नेपाल जिम्न्यास्टिक्स् संघले 'फाउन्डेसन अफ जिम्न्यास्टिक्स् कोर्ष' सञ्चालन गरेको छ।
अन्तर्राष्ट्रिय जिम्न्यास्टिक्स महासंघको सहयोगमा संघले ६ दिने 'एफआइजी एकेडेमिक फाउन्डेसन अफ जिम्न्यास्टिक्स् कोर्ष' सुरू गरेको हो।
कार्यक्रमलाई खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै उनले अन्य खेल संस्थालाई पनि यस्ता खालका कार्यक्रममा गर्न प्रेरणा मिलोस् भन्नेमा आशा राखेको बताए।
खेलकुद तथा शारीरिक तन्दुरूस्ती प्रतिस्पर्धामा मात्र सीमित नरहेको भन्दै उनले यसले खेल पर्यटनमार्फत् अर्थतन्त्रमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गरे। यस्तै यसबाट मित्रराष्ट्रहरूबीच पनि सुमधुर सम्बन्ध स्थापना हुने उनले बताए।
भक्तपुरमा मंगलबारदेखि सुरू भएको कोर्ष आगामी जुलाई २८ तारिखसम्म चल्नेछ।
उक्त कोर्षमा नेपालका १३ जना प्रशिक्षक, एशियाका विभिन्न राष्ट्रहरूबाट ११ जना प्रशिक्षक गरी २४ जना सहभागी भएका छन्।
सो कोर्ष सञ्चालन गर्नका लागि जापान, ब्राजिल र अस्ट्रेलियाबाट विशेषज्ञहरू आएको संघले जनाएको छ।