डडेल्धुराको परशुराम नगरपालिकाले १० जना खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
उत्कृष्ट खेलाडीलाई थप हौसला र ऊर्जा मिल्ने विश्वासका साथ नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको नगरपालिकाले जनाएको हो।
सम्मान तथा पुरस्कार पाउने खेलाडीहरूमा परशुराम–१२ का नेपाली यू–१९ पुरूष क्रिक्रेट टिमबाट विश्वकप खेलेका खेलाडी दीपक बोहरा रहेकी छन्। उनलाई १ लाख १ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
यस्तै, वडा नम्बर १२ कै एथ्लेटिक्सकी त्रिभुवन आर्मी क्लबमा आवद्ध रहेकी राष्ट्रिय खेलाडी निरा थापालाई पनि ५१ हजार नगदसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ।
यस्तै, परशुराम नगरपालिका–५ का एथ्लेटिक्सकै राष्ट्रिय खेलाडी छपेन्द्र नाथ, वडा नम्बर ५ की माया साउदलाई नगद १५ हजारसहित पुरस्कारसहित सम्मान गरेको हो।
यस्तै परशुराम–१ का भलीबलका खेलाडी भरत बिक, हरी बोहरा, ४ नम्वर वडाकी सीर्जना दमाई, मनोज माललाई १५ हजार नगद तथा पुरष्कार प्रदान गरिएको हो।
यस्तै मार्सलआर्ट खेलतर्फ नगरपालिकाको ५ नम्बर वडामा बसोबास गर्ने तेक्वान्दोका राष्ट्रिय खेलाडी नवीना भट्टराई, ८ नम्बर वडाका करातेका खेलाडी लक्ष्मण नेगीलाई पनि पुरस्कार तथा सम्मान गरिएको मेयर भरत बडायर जोशीले जानकारी दिए।
‘खेलाडीलाई आगामी दिनमा थप हौसला, ऊर्जा प्रदान होस् भनेर हामीले सम्मान गरेका हौं,’ उनले भने।