बुटवलमा बुटवल कोरा २०२४ साइक्लिङ च्यालेन्ज हुने भएको छ।
बुटवल साइक्लिङ ग्रुपले भ्रातृत्व विकास र पर्यावरण संरक्षणको लागि भन्दै आगामी शनिबार साइक्लिङ च्यालेन्ज आयोजना गरेको हो।
कुनै पनि पवित्र उद्देश्यका साथ स्थानीय स्तरमा रहेका धार्मिक पर्यटकीय स्थलहरूको दाहिने पारेर गोलाकार रूपमा साइकलमा एक फन्को लगाउने कार्यलाई कोरा साइक्लिङ भनिन्छ।
सोहीअनुसार आगामी शनिबार बुटवल मणिमुकुन्द कलेजबाट सुरू भई श्रृंगेश्वरधाम, योगिकुटी, मिलनचोक, हिलपार्क, चरङगे, धागो कारखाना, योगीकुटी तपाहा, शंकरनगर वनबाटिका, मणिग्राम, फर्साटिकर, नरेनापुर मन्दिर, ढवाह पिसपार्क, जितगढी किल्ला, जलविनायक मन्दिर, दुर्गा मन्दिर, गोलपार्क, ट्राफिक चोक, कालिकापथ हुँदै पुनः मणिमुकुन्द कलेजसम्मको ५० किलोमिटरको दूरी तय गरिएको ग्रुपका अध्यक्ष शिव चौधरीले बताए।
साइक्लिङ संघ लुम्बिनीका अध्यक्ष स्वस्तिक श्रेष्ठले कोरा पर्यटन र पर्यावरणमैत्री खेल भएकोले सबैलाई सहभागी हुन आग्रह गरे।
बुटवलमा पछिल्ला केही वर्षयता साइकल चलाऔं, स्वास्थ्य र पर्यावरण जोगाऔं भन्ने नारासहित कोरा गर्दै आएकोले यसलाई निरन्तरता दिँदै जानुपर्ने श्रेष्ठले बताए।
श्रेष्ठकाअनुसार संघले कोरामा सहभागीहरूले स्वेच्छिक रूपमा दिएको दानबाट हरेक वर्ष गम्भीर रोगबाट पीडित तथा अति अशक्त बिरामीलाई आर्थिक सहयोग गर्दै आएको छ।
अघिल्लो वर्ष मिर्गौला प्रत्यारोपण गरेकी भैरहवाकी आयुषा पाण्डेलाई ४६ हजार रुपैयाँ प्रदान गरिएकोमा यस वर्ष पनि दुई जना व्यक्तिलाई आर्थिक सहयोग गरिने श्रेष्ठले जानकारी दिए।
मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले साइकल चलाउनु समय, स्वास्थ्य र धन सबैको लागि लाभदायक र किफायती रहेको बताए।
१०/१५ किलोमिटरको यात्राका लागि इन्धनबाट चल्ने सवारी साधनको प्रयोग गर्नुभन्दा साइकलको प्रयोग गर्न प्रेरित गर्नुपर्ने क्षेत्रीको भनाइ छ।