नेपाल आइटिएफ तेक्वान्दो महासंघको २० औं वार्षिकउत्सवको पूर्वसन्ध्यामा देशभरिका आइटिएफ खेलाडीहरूको वर्गीकरण सेमिनार गरिएको छ। बुधबारबाट राष्ट्रिय खेलकुद परिषदमा सुरू भएको सेमिनारबाट खेलाडीहरूलाई प्रशिक्षणपश्चात खेलाडीको वर्गीकरण गरिएको हो।
ब्लाकबेल्ट, सेकेन्ड डान र थर्ड डानको वर्गीकरण बिहीबार राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव केशव विष्टले उद्घाटन गरे। उद्घाटनपछि तीनै चरणको शारीरिक अभ्यास र लिखित परीक्षा लिइएको छ।
नेपाल मार्सलआर्ट गेम्स कमिटीका अध्यक्ष प्रवीनकुमार कार्कीका अनुसार सेमिनारबाट ब्लाकबेल्ट लिने खेलाडीमात्र दुई सय थपिएका छन्। अन्य ५० ब्लाक बेल्ट खेलाडीको वर्गीकरण गरी सेकेन्ड र थर्ड डानमा दीक्षित गरिने उनले बताए। ब्लाकबेल्ट खेलाडीको लिखित परीक्षाको नतिजापछि दीक्षित गरिने उनले बताए।
वर्गीकरण उद्घाटन गर्दै सदस्य सचिव विष्टले मार्सलआर्ट खेलाडीहरूको प्रगतिका लागि नयाँ कार्यक्रम ल्याउन लागेको बताए। उनले देशभरि मार्सलआर्ट प्रशिक्षणका लागि पाँच हजार प्रशिक्षकको आवेदन आह्वान गर्न लागेको बताए। उनले केही समयमै प्रशिक्षकहरूका लागि प्रतिस्पर्धाबाट छान्न विज्ञापन आह्वान गर्ने बताए।
उनले नयाँ तथा पुराना मार्सलआर्ट खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनका लागि राखेपले सक्दो पहल गर्ने बताए। विष्टले खेलप्रति अभिभावकको आकर्षण बढाउन खेलकुदमै स्नातक, स्नातकोत्तर र पिएचडी गराउने लक्ष्य आफूसँग रहेको बताए।
आइटिएफ देशका ५१ जिल्लामा सक्रिय छ। आइटिएफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, खेलको विकास र क्षमता अभिवृद्धिका लागि सरकारबाट पहल नभएको खेलाडीहरूको भनाइ छ।
देशभरिबाट उपस्थित खेलाडीहरूलाई आइटिएफका अन्तर्राष्ट्रिय प्रशिक्षक प्रवीनकुमार कार्की, अञ्जुनाथ श्रेष्ठ, राजमन्दिर श्रेष्ठ, निर्मला तामाङ, उमेश राजथला, अञ्जु रावत, चतुरलाल चौधरी, राजेन्द्र धिमाल लगायतले प्रशिक्षणपछि वर्गीकरण गराएका थिए।
प्रशिक्षक कार्कीका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण कैयौं खेलाडी वर्गीकरणमा उपस्थित हुन सकेनन्। यसतर्फ सरकार तथा राष्ट्रिय खेलकुद परिषदलाई बारम्बार अनुरोध गरे पनि चासो नदेखाइएको गुनासो कार्कीले गरे। आइटिएफको २० औं वार्षिकउत्सव आइतबारबाट राजधानीमा सुरू हुने आइटिएफ महासंघका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए।