सन् २०२८ को ओलम्पिक खेल अमेरिकाको लस एन्जलस (एलए) शहरले आयोजना गर्ने भएको छ।
यसअघि सन् २०२४ कै ओलम्पिक खेल आयोजनाको दाबी गर्दै आएको लस एन्जलस त्यसबाट पछि हट्दै २०२८ को आयोजना गर्ने भएको हो।
सन् २०२४ को संस्करण आयोजनाका लागि फ्रान्सको पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएका थिए। दुवै शहरले आफूहरुले ओलम्पिकका लागि तयारी सुरु गरिसकेको भन्दै आयोजनाको जिम्मेवारी आफूले पाउनु पर्ने बताउँदै आएका थिए।
गएको जुनमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले पेरिस र लस एन्जलसले एकपछि अर्को ओलम्पिक खेल आयोजना गर्ने निर्णय गरेको थियो। तर कुन वर्षको ओलम्पिक कहाँ हुने स्पष्ट पारेको थिएन ।
लस एन्जलसको पछिल्लो भनाईपछि अब सन् २०२४ को ओलम्पिक खेल पेरिसमा र २०२८ को लस एन्जलसमा हुने भएको छ।
यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक आयोजना गर्न र तयारीको लागि त्यहाको ओलम्पिक कमिटीलाई १.८ विलियन युएस डलर सहयोग दिने समेत निर्णय गरेको छ ।
अमेरिकामा योजना हुने ओलम्पिक अघि दुई सस्करणको ओलम्पिक खेलकुद आयोजना हुने छ । सन् २०२० को ओलम्पिक जापानको टोकियोमा आयोजना हुने छ ।
त्यसपछि सन् २०२४ को ओलम्पिक खेल फ्रान्सको पेरिसमा हुने तय भैसकेको छ ।