पोखरा राइनोजकाे दोस्रो जित


एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल)मा पोखरा राइनोजले दोस्रो जित हात पारेको छ। पोखराले काठमाडौं किङ्सलाई ६ विकेटले हराएकाे हाे।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको गरेकाे काठमाडौले २० ओभरमा आठ विकेट गुमाउदै ९८ रन बनायो। जारी प्रतियोगितामा काठमाडौंले बनाएको यो अहिलेसम्म कै न्युन स्कोर हो। खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको काठमाडौले एक रनमा दुई विकेट गुमायो। उसका कप्तान फरवेज महारुफ र अमित श्रेष्ठ खाता खोल्न नपाउँदै आउट भए।

त्यसपछि ६४ रन हुदा काठमाडौले चार विकेट खेर फाल्यो जसमा तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके। सागर पुनले ३६ रन बनाउदा राजु रिजालले १७ र सोमपाल कामीले १० रन जोडे। बलिङ तर्फ पोखराका विक्रम सोब, शक्ति गौचन र सुसान भारीले दुई दुई विकेट लिए।

जवाफमा पोखरा राइनोजले १८ ओभर दुई बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो। ४३ रनमा दुई विकेट गुमाएको पोखराका लागि सुनिल धमलाले २० तथा इस्रा उल्लाहले अविजीत ४५ रन बनाए। यस्तै कप्तान शक्ति गौचनले १८ रनको योगदान गरे। जितसँगै पोखराले तीन खेलबाट ४ अंक बनाएको छ भने काठमाडौंको चार खेलबाट २ अंक छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.