निर्धारित पाँच खेलको एसेज सिरिज टेष्ट क्रिकेट अष्ट्रेलियाले जितेको छ। तेस्रो खेलमा इंग्ल्याण्डलाई ४१ रनले पराजित गर्दै दुई खेलअघि नै अष्ट्रेलिया सिरिज जित्न सफल रह्याे।
पाहुना टोली इंग्ल्याण्डले खराब प्रदर्शन गर्दै तेस्रो टेष्टमा पनि नराम्रो हार ब्यहोर्न पुग्यो। अन्तिम दिन ४ विकेटको क्षतिमा १३२ रनदेखि नै आफ्नो इनिङ्स थालेको इंग्ल्याण्डको लागि जेम्स भिन्सले ५५ र डविड मलनले ५४ रन बनाए।अन्य कुनै खेलाडीले उच्च स्कोर बनाउन सकेनन्। इंग्ल्याण्डका खेलाडीलाई अलआउट गर्न जोस हज्लेवोडले ५ विकेट लिए।
डब्लुएसीए मैदानमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले आफ्नो पहिलो इनिङ्समा ४०३ रन बनाएको थियो। इंग्ल्याण्डका लागि दुई खेलाडीले शतक प्रहार गरेका थिए। जसमा डविड मलनले १४० रन बनाएका थिए भने, जोन्नी बैस्र्टौले ११९ रन बनाएका थिए। बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिएका थिए।
अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा ९ विकेटको क्षतिमा ६६२ रनको विशाल स्कोर बनाएको थियो। अष्ट्रेलियाका लागि कप्तान स्टेभन स्मिथले दोहोरो शतक प्रहार गरेका थिए। उनले ३० चौका र एक छक्का प्रहार गर्दै २३९ रन बनाएका थिए। त्यस्तै, अर्का खेलाडी मिचेल मार्सले पनि शतक प्रहार गरेका थिए। उनले १८१ रनको योगदान दिएका थिए।
यसअघि भएको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई १० विकेटले पराजित गरेको थियो। त्यस्तै, दोस्रो टेष्टमा भने अष्ट्रेलियाले १२० रनले इंग्ल्याण्डलाई पराजित गरेको थियो। सिरिजकाे चौथो टेष्ट क्रिकेट भने २६ डिसेम्बरदेखि मात्र सुरु हुनेछ।