रानीपोखरीमा कालो माटो भर्ने र मल्लकालीन स्वरुपमै पर्खाल बनाउने विज्ञ समितिको निर्णय

तस्बिरः सेतोपाटी


रानीपोखरी जिर्णोद्वारबारे अध्ययन गर्न बनेको विज्ञ समितिले पिँधमा एक फिट कालो माटो भर्ने र भत्किएको मल्लकालीन पर्खाल उही स्वरूपमा बनाउने निर्णय गरेको छ।

दुई दिनको उत्खननपछि बिहीबार बसेको समिति बैठकले उक्त निर्णय गरेको हो।

रानीपोखरी डिलमा बनाउन थालिएको कंक्रिट पर्खाल भत्काउने पनि बैठकले निर्णय गरेको सदस्य सुदर्शनराज तिवारीले जानकारी दिए।

‘रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा जारी पुनर्निर्माण रोक्ने पनि समितिको निर्णय छ,’ प्राध्यापक तिवारीले बैठकपछि सेतोपाटीसँग भने।

समितिले मल्लकालीन स्वरुप, शैली र निर्माण सामग्री प्रयोग गरेरै रानीपोखरी बनाउने निर्णय गर्नुका दुई आधार छन्।

पहिलो, रानीपोखरीको पश्चिमपट्टि खन्दा करिब साढे तीन फिट गहिराइमै पानी फेला परेको छ। पानी उम्रिएको भाग सडक सतहभन्दा करिब १९ फिटमुनि छ। त्यही ठाउँमा कालो माटो र बालुवाको तह फेला परेको छ। ती आपसमा खप्टिएर छ तह बनेका छन्।

‘पोखरी निर्माणको परम्परागत विधि नै यही हो,’ तिवारीले भने, ‘यहाँ कालो माटो र बालुवाको तहले पानी अडाउने काम गरेको छ। यसको मतलब, रानीपोखरीलाई प्राकृतिक रूपमै पुनर्जीवन दिन सकिन्छ भन्ने हो।’

हेर्नुहोस्:

खुर्किएको कालो माटो भरे रानीपोखरी आफैं बन्छ

कालो माटोले पोखरीको पानी चुहिनबाट रोक्छ। आवश्यकताअनुसार पानी रसाएर जाने बाटो पनि दिन्छ। पुरानै अवस्थामा पानी जम्मा हुन भने केही समय लाग्न सक्छ। पिँधमा खुर्केर फालिएको करिब एक फिट कालो माटो हाले आउँदो बर्खाभरिमा पानी भरिन सक्ने उनले बताए।

दोस्रो आधार, उत्खनन क्रममा पोखरीको दुई तहको डिल फेला परेको छ। दुवै मल्लकालमै बनेका हुन्।

सबभन्दा होचो डिल सडक सतहभन्दा करिब १५ फिट तल छ। माथिल्लो डिल सडक सतहभन्दा लगभग पाँच फिट तल छ। दुवै डिल मल्लकालीन इँटाले बनेका छन्। दुवैको ठिक पछाडि उत्तिकै उचाइमा कालो माटो खाँदिएको छ। यसको चौडाइ डेढ फिट छ।

जिर्णोद्वार क्रममा भत्केको पर्खाल मल्लकालीन स्वरूपमै बनाएर त्यसको पछाडि कालो माटो खाँद्ने बैठकको निर्णय छ।

काठमाडौं महानगरपालिकाको पछिल्लो पुनर्निर्माण क्रममा तल्लो डिलको केही भाग भत्किएको थियो। यसको सट्टा कंक्रिट पर्खाल लगाउन खोजिएको थियो। चौतर्फी विरोधपछि महानगरपालिकाले काम रोकेर अध्ययन समिति गठन गरेको हो।

महानगरका ठेकेदारले भत्काएकोबाहेक अधिकांश पर्खाल सग्लै छ। यसलाई जस्ताको तस्तै प्रयोग गर्न सकिने तिवारी बताउँछन्। ‘भत्किएका केही भाग पुरानै शैलीमा बनाए बाँकी उही रूपमा प्रयोग गर्न सकिन्छ,’ उनले भने।

समितिले पुनर्निर्माण सुरु भइसकेपछि पनि उत्खनन् जारी राख्न सुझाव दिएको छ।

पानीको स्रोत र निकासबारे थप खोजी हुनुपर्ने हुँदा थप उत्खनन सिफारिस गरिएको हो। जिर्णोद्वार सुरु भइसकेपछि उत्खनन् जारी राख्न सकिने तिवारीले बताए।

रानीपोखरीमा सातवटा इनार खनिएको भनाइ छ। यी इनारबाट काठमाडौंका विभिन्न टोलमा पानी आपूर्ति हुन्थ्यो।

अहिलेसम्म थाहा भएअनुसार तीनधारा पाठशालामा जाने पानी रानीपोखरीकै हो। सुन्धाराको हिटीमा हामीले केही वर्षअघिसम्म पानी आइरहेको देख्थ्यौं। त्यसको स्रोत पनि रानीपोखरी नै हो। त्यहाँ टुँडिखेल हुँदै कुलो खनेर पानी लगिएको थियो।

‘उत्खननबाट यी सबै गुत्थी सुल्झाएर रानीपोखरीको स्रोत र निकास खोज्न सकिन्छ,’ तिवारीले भने।

यसका केही आधार फेला परेका छन्।

ढुंगेधाराहरूमा माछाको मुखजस्तो आकृतिबाट पानी आउने जस्तो भाग हामी देख्छौं, यहाँ त्यस्तै संरचना फेला परेको छ। त्यो बर्खामा पानी भरिँदा बगेर जाने बाटो हुनसक्छ।

पोखरीको भूमिगत स्रोत पनि फेला पार्न सकिने तिवारीको भनाइ छ।

समितिको अर्को बैठक सोमबार बस्नेछ। समितिले अर्को साता आफ्नो सुझावसहितको प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाउनेछ। यही आधारमा मल्लकालीन शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरेर जिर्णोद्वार सुरु हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.