भक्तपुरको त्रिवेणीघाटमा माधवनारायण मेला शुरु

भक्तपुरको पवित्र धार्मिक स्थल ख्वरे (हनुमानघाट)मा प्रार्थना गर्दै माधव नारायणका ब्रतालु। तस्बिर-नारायण महर्जन/सेतोपाटी


भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा एकमहिने माधवनारायण व्रत एवं मेला शुरु भएको छ।

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेलामा सोमबार बिहान त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि ब्रत शुरु भएको हो।

मेला भक्तपुरमा नेपाल संवतको आठौँ शताब्दीदेखि शुरु भएको मानिन्छ।

साँखुको सालीनदी जस्तै हनुमानघाटको त्रिवेणीधाममा लाग्ने माधवनारायण मेलामा यस वर्ष तीन महिला र १२ पुरुष व्रत बसेका छन्। भूकम्पले संरचना भत्केकाले बस्ने ठाउँ नहुँदा यस वर्ष वर्तालुको संख्यामा निकै कमी आएको छ। व्रत बस्नेमा छदेखि ७५ वर्षका सम्म छन्।

व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी गोपाल शर्माले जानकारी दिए।

नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख छ। यहाँस्थित त्रिवेणीघाटमा डुबी एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास छ।

वर्तालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गई त्रिवेणीमा बसेर स्नानपछि इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलशयात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शंखदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतीन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एकमहिने व्रत समापन गर्ने परम्परा रहेको छ।

वर्तालु महिलाले त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र पुरुष वर्तालुले भने हरेक दिन बिहान त्रिवेणी खोलामा आएर नुहाउने तथा व्रतालु महिलासँगै विभिन्न स्थानको कलशयात्रामा सहभागिता जनाउने गरे पनि यस वर्ष भने महिलालाई पनि यहाँ बस्ने व्यवस्था गरिएको छैन।

भूकम्पले भत्काएको यहाँको भौतिक संरचना पुनःनिर्माण शुरु गरिएकाले यस वर्ष बस्ने ठाउँको अभावका कारण राति बस्ने ब्यबस्था छैन। वर्तालुले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणीमा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुति गरेपछि भक्तपुर नगरका विभिन्न देवालयको परिक्रमा गरेर भूपतीन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर मेला समापन गर्ने परम्परा छ।

रामलक्ष्मण वनवास आउँदा दहीचिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको बताइन्छ। उत्तरदक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले सो क्षेत्रलाई त्रिवेणीघाट भन्ने प्रचलन छ।

हेर्नुहोस् तस्बिरमा

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.