६० आंगिक क्याम्पसमध्ये ४० वटामा तोकिए सूचना अधिकारी


त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा भटाभट सूचना अधिकारी तोकिएका छन् ।

अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमको अगुवाइमा त्रिविअन्तर्गतका ६० वटा क्याम्पसमा सूचना माग गरेपछि ती क्याम्पसले अहिले सूचना अधिकारी तोकी सोको जानकारी सूचना मागकर्ता र राष्ट्रिय सूचना आयोगलाई दिन थालेका छन्।

विश्वविद्यालय केन्द्रमा मात्र सूचना अधिकारी तोकिएको र क्याम्पसमा सूचना अधिकारीको प्रावधान नरहेको भन्दै सूचनाको हकलाई कार्यान्वयन गर्न आनाकानी गरेका क्याम्पस प्रमुख अन्ततः सूचना अधिकारी तोक्न बाध्य भएका हुन् । सूचना अधिकारी तोके पनि ती क्याम्पसले अझै सूचनाको हकको व्यावहारिक प्रयोग गर्न भने हिच्किचावट गरिरहेका छन् ।

सूचना अधिकारी तोकिएको जानकारी सूचना मागकर्तालाई दिए पनि उनीहरूले सूचना अधिकारीमार्फत सूचना भने अझै प्रवाह गर्न सकेका छैनन्। सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक सार्वजनिक निकायले सो निकायसँग सम्बन्धित सूचना व्यवस्थापन गर्न तथा नागरिकले मागेको सूचना उपलब्ध गराउन सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

फ्रिडम फोरमको लामो प्रयासपछि ६० आंगिक क्याम्पसमध्ये भोजपुर बहुमुखी क्याम्पस भोजपुर, महेन्द्र बहुमुखी क्याम्पस बाँके, डोटी बहुमुखी क्याम्पस डोटी, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम, डडेल्धुरा बहुमुखी क्याम्पस, अमरगढी डडेल्धुरा, वन विज्ञान अध्ययन संस्थान पोखरा, जुम्ला बहुमुखी क्याम्पस, मेची बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहचल, केन्द्रीय प्रविधि क्याम्पस धरान, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज पर्सा, थापाथली क्याम्पस, तेह्रथुम बहुमुखी क्याम्पस, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, नेपालगञ्ज नर्सिङ क्याम्पसलगायत ४० क्याम्पसले सूचना अधिकारी तोकेका छन् ।

सूचना अधिकारी तोक्न बाँकी क्याम्पसले पनि तत्कालै सूचना अधिकारी तोक्ने र सोको जानकारी दिने पत्र राष्ट्रिय सूचना आयोग र सूचना मागकर्तालाई पठाएका छन् । नेपालमा यो हकको बारेमा पर्याप्त जनचेतनाको अभाव छ । ऐन, नियम र राष्ट्रिय सूचना आयोग जस्ता संयन्त्रको व्यवस्था भएको करीब १० वर्ष भइसके पनि यसको उपयोगतर्फ न त सरकार न त जनता, दुवैतर्फमा सक्रियता, चासो र गम्भीरताको अभाव खट्किएको छ ।

त्रिविसँग थप सूचना माग त्रिवि रजिस्टारको कार्यालयसँग त्यस विश्वविद्यालयअन्तर्गतका ६० आंगिक क्याम्पसमा आन्तरिक लेखापरीक्षण गर्दा केन्द्रबाट खटिने टोलीले दोहोरो सुविधा लिएको पाइएपछि त्यसबारे थप सूचना माग गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमको अगुवाइमा तारानाथ दाहाललगायतले सूचनाको हकको प्रयोग गरी माग गरेको सूचनामा त्रिविबाट काज लिएर गएका लेखापरीक्षकले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा उक्त क्याम्पसलाई पनि आर्थिक भार पारेको सूचना प्राप्त गरेपछि त्यससम्बन्धी थप सूचना माग गरिएको हो।

सूचना मागमा उनीहरूले आंगिक क्याम्पसमा आव २०७१/७२ र २०७२/७३ को आन्तरिक लेखापरीक्षणका क्रममा भएको खर्चको विवरण माग गरिएको छ। सूचनामा त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौंमा आंगिक क्याम्पसको आन्तरिक लेखा परीक्षण गर्न त्यस कार्यालयबाट क–कसको नेतृत्वमा कतिवटा टोली खटिएका थिए र उक्त टोलीका लागि सो कार्यसम्पादन गरेबापत के /के शीर्षकमा कति–कति खर्च भएको छ भन्ने विवरण माग गरेका छन् ।

त्यसैगरी, त्यस विश्वविद्यालयअन्तर्गतका ६० वटा आंगिक क्याम्पसको सूचना अधिकारीको नाम, सम्पर्क नं र पद तथा आन्तरिक लेखा परीक्षण गर्न खटिएको टोलीले लिएको दोहोरो सुविधाका विषयमा कस्तो प्रकारको कारबाही हुने व्यवस्था छ सोबारे जानकारी माग गरिएको छ। केही समयअघि उनीहरूले नै त्रिभुनव विश्वविद्यालयअन्तर्गतका ६० आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएपछि उक्त सूचना माग गरिएको बताएका छन् । सूचना मागको बोधार्थ राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तलाई समेत दिइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.