सामाजिक सुरक्षा भत्ता घरमै गएर वितरण


स्थानीय तहमा पदाधिकारी निर्वाचित भएर आएपछि सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुगेर वितरण गर्न थालिएको छ ।

यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बदमासी भएको पाइएपछि लाभग्राहीलाई बैंक खातामार्फत भत्ता दिँदै आएको थियो त्यसबाट वृद्ध तथा अशक्तले ज्यादै झण्झट र दुःख सास्ती व्यहोर्नु परेकाले चौतारा साँगाचोकगढी नगरपालिकाले वडादशैंको उपलक्ष्यमा घरघरमै गएर भत्ता वितरण गर्न थालेको हो ।

सबै ठाउँमा बैंक उपलब्ध नहुने र अनिवार्य बैंकमा उपस्थित भई खाता खोली भत्ता झिक्न बैंकले मञ्जुरीनामा समेत अस्वीकृत गरेकाले सेवाग्राहीलाई समस्या परेको थियो । अब घरबाटै भत्ता बुझ्न पाएकामा वडा नं ७ निवासी रुद्रबहादुर दंगाल निकै खुशी देखिन्छन् । त्यस्तै, ८४ वर्षीय मीरबहादुर श्रेष्ठका दम्पतीले पनि बोकिएर बैंकमा ओहोरदोहोर गर्नुपरेको सास्ती र हण्डर खाएको स्मरण गर्दै दशैंको मुखमा घरमै भत्ता बुझ्न पाउँदा खुशी लागेको बताउँछन्।

नगरपालिकामा हाल कार्यकारी अधिकृतसमेत नभएको अवस्थामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट अख्तियारी पत्र लिई नगरपालिकाभरि चार महिनाको ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिका तथा अपांग भत्ता करीब  एक करोड ७५ लाख रुपैयाँ वितरण गरिएको उपप्रमुख जानुका पराजुलीले बताईन्।

‘कतिपयले भत्ता आउँला र दशैं मनाउला भनेर बसेका लाभग्राहीलाई दशैंको मुखमा भत्ता वितरण गरेको हो’ उपप्रमुख पराजुलीले भनिन् – ‘पहिलेका कर्मचारीले बदमासी गरे पनि हामी जनप्रतिनिधिको हैसियतले त्यस्तो अनियमितता नहुने प्रतिबद्धता गरेरै भत्ता वितरण गरेका हौँ ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.