लार्चाको बेलिवृजको काममा सुस्तता


सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने लार्चाको पक्की पुल पहिरोले भाच्चिएपछि बन्दै गरेको बेलिवृजको काममा सुस्तता आएको छ ।

बेलिवृजको जग बनाउने (फाउन्डेशन) भागमा ठूलो चट्टान देखा परेकाले त्यसलाई हटाउन धेरै समय लागेको हुँदा तीव्र गतिमा हुनुपर्ने काममा ढिलाइ हुन गएको हो ।

मेसिनरी औजार प्रयोग गर्दा पनि चट्टान फुटाउन नसकी मानवीय शक्तिकै भरमा चट्टान फुटाएर जग तयार गर्न समय लागेकाले पुलको काम सम्पन्न गर्न तिहारपछि मात्र सम्भव हुने डिभिजन सडक कार्यालय दोलखाका डिभिजनल इञ्जिनियर अशोक तिवारीले बताए ।

गएको साउन ८ गते बेलुका अविरल वर्षासँगै माथिबाट खसेको ढिस्कोले भोटेकोशी गाउँपालिकाको फुल्पिङकट्टीस्थित भोटेकोशीको पक्की पुल भाँच्चिएपछि तातोपानीसँगको सम्पर्क विच्छेद भएको थियो ।

७० मिटर लामो पक्की पुल बगाएपछि तातोपानी क्षेत्रका बासिन्दालाई पाँच घण्टाको जोखिमपूर्ण पैदलयात्रा गरेर छिमेकी वडा फुल्पिङकट्टी आवतजावत गर्नु परेको थियो ।

एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सडक विभागले साउन १८ गते बेलिवृजका सबै सामान योजनास्थलमा पुर्‍याएको थियो । तर, काममा ढिलाइ भएका कारण नै त्यस क्षेत्रका बासिन्दालाई पुल तयार भई सवारी साधनबाट तातोपानी ,बाह्रबिसे काठमाडौं र काठमाडौं– तातोपानी आवतजावत गर्न अझै ६ महिना पर्खनुपर्ने अवस्था छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.