१ करोड शिव प्रार्थिव पुजन महायज्ञको आयोजना हुँदै

विश्वमै ठूलो महायज्ञ हुने आयोजकको दाबी


श्री मानव तथा बोलबम परिवारले आगामी कात्तिक २२ गते धनुषाको जनकपुरमा १ करोड शिव प्रार्थिव पुजन महायज्ञको आयोजना गर्ने भएको छ।

बोलबम परिवारले आइताबार  पत्रकार सम्मेलन गरेर उक्त महायज्ञको तयारीमा आफूहरू जुटिरहेको जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष ललन ठाकुरले १३ वर्षपछि जनकपुरमा विश्वकै उदाहराणीय र भव्य महायज्ञको आयोजना हुन लागेको दाबी गरे ।
उक्त महायज्ञको तयारीलाई तीव्र रुपमा अघि बढिरहेको बताउँदै भने,‘हामी महायज्ञको तयारीमा जुटिरहेका छौँ, सरकारले खानेपानी, शौचालय, सुरक्षा र सरसफाइमा साथ दिनुपर्छ, हामीले यो काम मुलुकको मात्रै नभएर विश्वशान्ति, एकता मेलमिलाप, भातृत्व, प्राकृतिक विपत्तिबाट जोगिनको लागि यस महायज्ञको आयोजना गरिएको हो ।’

संस्थाका अध्यक्ष ठाकुरले विश्वको नमूनायूक्त कार्यक्रम भएको दाबी गर्दै आगामी कात्तिक  २२ गतेको महायज्ञलाई गिनिज बुकमा रेकर्ड राख्नको लागि सञ्चारकर्मीको सहयोगको अपेक्षा गरेका छन् ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि अभयकान्त मिश्रले नेपाल–भारतबीचको सम्बन्धलाई रोटी–बेटीको रुपमा टिप्पणी गरेका छन् ।

उनले भने,‘नेपाल र भारतको सम्बन्ध निक्कै पुरानो हो, यसलाई कायम राख्नको लागि यस्ता महायज्ञको आयोजना हुनुपर्छ, विश्वमा कहि नभएको काम नेपालमा हुँदैछ, यस्तो अवस्था सबैको साथ चाहिन्छ।’

मिश्रले अघि थपे,‘भारतबाट हजारौं भक्तजनहरू आउने छन्, हामी गंगाको जल बोकेर जनक सीता जन्मेको पवित्र भूमि जनकपुरमा खाली पैतला पुग्ने छौँ, त्यही गंगाको जलले १ करोड शिव लिङ्गको पुजन गर्नेछौँ।’

धार्मिक विश्वासको आधारमा वर्षकै पवित्र दिनको रुपमा रहेको आगामी कात्तिक २२ गते महायज्ञमा १० हजार भक्तजनहरूको उपस्थिति र ७ सयजना ब्राहमणहरू शिव पुजनमा उपस्थित हुने आयोजकले जनाएको छ।

उक्त महायज्ञलाई सम्पन्न गर्नको लागि आर्थिक स्रोत कसरी जुटाउनु हुन्छ ? भनेर गरिएको सञ्चारकर्मीको प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले भने,‘हामीले कसैबाट ठूलो आर्थिक सहयोगको अपेक्षा गरेका छैनौँ, जनमानसले जति सक्नुहुन्छ त्यति नै साथ र सहयोग गर्नुहोस् भनेर हामीले आग्रह गरेका छौँ, भक्तजनले हामीलाई यस पवित्र कामको लागि साथ दिनेछन् ।’

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.