शुक्रबार बिहान सवा ११ बज्दा दक्षिणकाली नगरका मेयर मोहन बस्नेत आफ्नो कार्यालयमा कसैलाई पर्खिरहेका थिए।
‘बाह्र बजे आउँछु भन्नुभएको छ,’ उनले घडी हेर्दै भने, ‘एकछिन अझै कुरौं।’
साढे ११ बजे कीर्तिपुर नगरका मेयर रमेश महर्जन कोठाभित्र छिरे।
‘स्वागत छ मेयरसाब, हजुर आएर यो ठाउँलाई पवित्र पारिदिनुभयो,’ बस्नेतले महर्जनसँग हात मिलाउँदै भने।
‘पवित्र पारेँ भन्दा त अलि बढी व्यंग्य भयो कि,’ महर्जनले हाँस्दै भने।
कोठाभरि एकछिन हाँसो फैलियो।
केही बेरमै हाँसोको ठाउँ यी दुवै जनप्रतिनिधिको दायित्व र चिन्ताले लियो। उनीहरूको चिन्ता साझा थियो– चोभारदेखि दक्षिणकालीसम्म विस्तार भइरहेको बाटोको धुलो, हिलो, खाल्डाखुल्डी र जामले भोग्नुपरेको सास्ती।
जनताको त्यही सास्ती कम गर्न सकिन्छ कि भनेर बस्नेतले सरोकारवालाको बैठक डाकेका थिए। जोडिएको नगर भएकाले महर्जनलाई पनि नित्याएका थिए।
दुवै नगरभित्र पर्ने यो बाटो पछिल्लो समय अतिव्यस्त छ। काठमाडौंबाट हेटौंडा हुँदै वीरगन्ज, सिमरा, कलैयालगायत मध्य तराई सहर जाने सयौं टाटासुमो दैनिक यही बाटो कुदछन्। पानीका ट्यांकर, गिट्टी, बालुवा, रोडा बोक्ने ट्रिपर पनि छिनछिनमा आइरहन्छन्। शनिबार र चाड विशेषमा निजी सवारी लिएर दक्षिणकाली दर्शन गर्न जानेको भीड उस्तै हुन्छ। कलेज पढ्न, जागिर खान, औषधिमूलो र किनमेल गर्न दक्षिणकालीबासीलाई हरेक दिन यही बाटो काठमाडौं आउजाउ गरिरहनुपर्छ।
पछिल्लो समय सडक विस्तारले यहाँको यात्रा सकसपूर्ण बनेको छ। ठाउँठाउँमा खनिएको सडक घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे। त्यसमाथि ठूल्ठूला खाल्डाखुल्डी त छँदैछन्। सडकछेउ थुपारिएका निर्माण सामग्रीले एकलेनको सडक झन् साँघुरो बनाइदिन्छ। दिउँसै आधा सडक च्यापेर काम गर्ने डोजरले एक घन्टा लाग्ने बाटोमा तीन घन्टा खर्चिनु परेको स्थानीय बताउँछन्। कहिलेकाहीँ त यहाँ एम्बुलेन्स पनि जाममा फस्छन्।
‘पहिला पो जनप्रतिनिधि थिएनन्, जनताले कहीँ भन्ने ठाउँ पाउँदैनथे, अहिले त हामीलाई जिताएर पठाएका छन्, हरेक दिन नगरपालिकाले बाटो बनाउनु पर्दैन भन्दै आउँछन्,’ मेयर बस्नेतले भने, ‘मान्छेले दुःख पाएको देख्दा अनि आफूले पनि भोग्दा केही गरौं भन्ने लाग्छ, तर यो नगरपालिकाको क्षेत्रभित्र नपर्ने काम रहेछ।’
कीर्तिपुरका मेयरले टाउको हल्लाउँदै सहमति जनाए।
चोभारदेखि टौदहसम्म कीर्तिपुर–६ का नागरिकले आफूसँग गर्ने गुनासो यही रहेको उनले बताए।
नागरिकले बारम्बार गुनासो गर्दा पनि केही गर्न नसकेको थकथकी दुवै मेयरलाई थियो। उनीहरू आफ्नै नगरभित्र बाटो बनाइरहेको ठेकेदारलाई ‘बाटो राम्ररी बनाऊ, जनताले दुःख पाए’ भन्न सक्ने अवस्था रहेनछन्। यही बाटोको दुर्दशाले आफूले गरेका अरू काम छायामा परेको मेयर बस्नेतको गुनासो थियो।
नजिक आइरहेका दसैं, तिहार लगायत चाडबाडमा यो बाटो हिँड्ने यात्रुलाई सुविधा दिन के गर्न सकिन्छ? नगरपालिकाले त्यसका लागि के गरिदिनुपर्छ भनेर छलफल गर्न सरोकारवालाबीच डाकिएको उक्त बैठकमा ठेकेदारलाई पनि बोलाइएको थियो। उनले अन्तिम समयमा आउने नसक्ने जानकारी दिएछन्।
‘अघिल्लोचोटि बैठक हुँदा पनि यस्तै गर्याथे, यो पालि पनि आएनन्, नेपालका ठेकेदारलाई भेट्न त प्रधानमन्त्रीले पनि टाइम लिनुपर्छ भन्थे, हो रैछ,’ मेयर बस्नेतले भने।
सडक विभाग मातहतको ठेक्का भएकाले ठेकेदारलाई बोलाउने कानुनी अधिकार नगरपालिकासँग नभएको उनले बताए। उपस्थित प्रहरी, बस व्यवसायी र स्थानीयको गुनासो ठेकेदारसँगै थियो– जथाभाबी सामान थुपार्ने र खाल्डा नपुरिदिने। अनि, सम्पर्कमा पनि नआउने।
भारतको अनुदानमा सडक विभागले बल्खु–दक्षिणकाली सडक विस्तार थालेको हो। २३ करोड ७८ लाख रुपैयाँमा १२ किलोमिटर सडक दुईलेन कालोपत्रे गर्ने ठेक्का गौरी पार्वती कन्स्ट्रक्सनले पाएको छ। कन्स्ट्रक्सनले आउँदो चैतसम्म यो बाटो तयार पारिसक्नु पर्नेछ।
भक्तपुर–नगरकोट–सिपाघाट, बल्खु–दक्षिणकाली सडक योजनाका प्रमुख इन्जिनियर नरेन्द्र कोइरालाका अनुसार अहिलेसम्म ५३ प्रतिशत काम सकिएको छ। उनले ठेकेदारको काम सन्तोषजनक रहेको बताए।
‘बाटो ठूलो पार्दा खाल्डाखुल्डी भइहाल्छन्, एकपटक ग्राभेल हाल्यो भने फेरि निस्किहाल्छ, पटक–पटक ती खाल्डा पुर्न हामीसँग बजेट छैन,’ योजना प्रमुख कोइरालाले भने, ‘भारतले अनुदान बढाउँदैन, नेपाल सरकारले पैसा दिँदैन, योजनाभन्दा बाहिर गएर ठेकेदारले पनि कसरी पुर्ने खाल्डा?’
जनप्रतिनिधिलाई त यी खाल्डा नपुरी धरै छैन।
यसबीच बिहीबार दक्षिणकाली यातायात मजदुर संघका सदस्यले बाटो राम्रो नभएकाले गाडी नचलाउने सूचना टाँसिदिए। त्यो सूचना फेसबुकमा फैलियो। ‘मान्छेले फोन गरेर हैरान बनाउन थाले,’ बस्नेतले भने, ‘अब झन् जात्रा र चाडबाड सुरु भयो, यस्तो बेला हामीले केही नगरी बस्न मिल्दैन।’
दुवै मेयरले यो वर्षको बजेटमा नभए पनि स्रोत जुटाएर आउँदो शुक्रबारसम्म सडकका खाल्डा पुर्न १०/१० ट्रिपर गाभ्रेल हाल्ने सहमति गरे। सडकछेउ थुपारिएका माटो र ढुंगा हटाउन प्रहरीमार्फत् ठेकेदारलाई भन्ने निष्कर्ष निकाले। दुवै मेयरबीच यो बाटोमा चल्ने ट्रिपरका लागि बागमती नदी किनार करिडोर बनाउन पहल गर्ने सहमति पनि भयो।
‘एक्ला–एक्लैभन्दा दुई नगरपालिकाले एकै स्वरमा बोल्यौं भने हाम्रो आवाज झन् बलियो हुन्छ,’ मेयर बस्नेतले भने, ‘भुगोलसँगै हाम्रा समस्या पनि जोडिएका छन्। आगामी दिनमा पनि हामी मिलेर जानुपर्छ।’
दुई फरक राजनीतिक दल (बस्नेत कांग्रेस र महर्जन एमाले) बाट चुनिएका यी दुई मेयरको सहकार्यले बाटोको अवस्था सहज हुन्छ भन्ने बैठकमा सहभागी धेरैको आशा छ। यति मात्र होइन, दुई मेयरको सहकार्य अन्य नगरका मेयरका लागि पनि उदाहरण हुन सक्छ।
बैठक सकेर कीर्तिपुर मेयर काठमाडौं फर्किए। हामी पनि मोटरसाइकलमा फर्कियौं। जाँदा टाउकोदेखि खुट्टासम्म टाँसिएको धुलो टक्टक्याउन मन लागेन, फर्कंदा फेरि लागिहाल्थ्यो। हामीजस्तै मोटरसाइकलमा गुडिरहेकाले आँखा मात्र देखिने गरी शरीर छोपेका थिए।
टौदह पुग्दा ट्रिपरबाट ग्राभेल झारिँदै थियो। एक जना मान्छे घरि फोनमा बोलिरहेका थिए, घरि यसो गर उसो गर भनिरहेका थिए। फोटो खिच्न थाल्दा उनले सोधे, ‘तपाईंहरू मिडियाबाट हो?’
उनी रहेछन्, कीर्तिपुर वडा नम्बर ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन।
‘हेर्नुस् न जति भने पनि यो ठेकेदारले मान्दैन। त्यही भएर आफैं खाल्डाखुल्डी पुर्न हिँडेको छु। जनताले यत्रो दुःख पाएका छन्, जनप्रतिनिधि भएर घरमा बस्न नमिल्ने,’ उनले भने।
बिहान जाँदा त्यही ठाउँमा बाइक हिलोमा झन्डै चिप्लेलाझैं भएको थियो। फर्किंदा ग्राभेल हालेको रहेछ। हामी निस्कन लाग्दा न्हुच्छेबहादुरले भने, ‘यो बाटोमा मान्छेले दुःख पाए भनेर तपाईंहरू पनि हाइलाइट्स गरिदिनुस् है। हामीले मात्र गरेर यो ठेकेदारले नसुन्ने रैछ।’