मध्यपुरथिमि नगरपालिकाले आव ०७३/०७४ मा छ करोड ७७ लाख २० हजार रुपैयााँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा १९१.१७ प्रतिशत वृद्धि गरी १२ करोड ९४ लाख ६० हजार रुपैयाँ संकलन गरेको छ ।
नयाँ जनप्रतिनिधिले १०० दिनमा गरेका काम तथा प्रगति आज सार्वजनिक गर्दै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जनप्रतिनिधि आएपछि प्रत्येक वडाध्यक्षलगायतले राजस्व संकलनमा कडाइ गरेपछि वृद्धि भएको जिकिर गरे । त्यसैगरी नगरपालिकाको कुल ७३ करोड ९८ लाख ८९ हजार रुपैयाँको बजेटमध्ये नगरका प्रत्येक वडालाई प्रतिवडा एक करोड ४० लाख रुपैयाँका दरले विनियोजन गरिएको छ ।
फोहोर व्यवस्थापनका लागि एउटा फोहोर संकलनको सवारी साधन र एउटा डोजर खरीद गरिएको जानकारी दिँदै श्रेष्ठले नगरको फोहोर अब ओखरपौवा लानुनपर्ने गरी थिमिमै व्यवस्थापन गरिने बताए ।
नगरप्रमुख श्रेष्ठले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गरिने बताउँदै सार्वजनिक एवं पर्ती जग्गाको पहिचान गरी संरक्षण गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । त्यसैगरी अशक्त र बिरामी नागरिकको सामाजिक सुरक्षाभत्ता नगरपालिकाले प्रत्येक चौमासिकमा घरघर गएर वितरण गर्ने व्यवस्था गरिएको जनाइएको छ ।
नगरपालिकाले नगरपालिका सञ्चालनका लागि विभिन्न निर्णय, आदेश र अधिकारपत्रको प्रमाणीकरण, कार्यविभाजन नियमावली, कार्यसम्पादन नियमावली, कार्यपालिका बैठक सञ्चालन कार्यविधि, नगरसभा बैठक सञ्चालन कार्यविधि निर्माण पनि गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले नगरपालिकाको विकासका लागि जनप्रतिनिधिको भूमिका उल्लेख्य रुपमा अगाडि बढेकाले कर्मचारीलाई काम गर्न सहज भएको बताए । रासस