काठमाडौं निर्वाचन क्षेत्र नं. चार अन्तर्गत कपन क्षेत्रमा निर्माण भइरहेका सडकको निर्माण कार्य अबदेखि तीव्र रूपमा अगाडि बढ्ने भएको छ।
सरोकारवालाहरूले बाटो निर्माणमा आइपरेका सबै अवरोध हटाउँदै निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन् ।
क्षेत्र नं. चारको सांसदको कार्यालयले कपनमा आयोजना गरेको सडक निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरूले अबदेखि कुनैपनि बाहनामा निर्माण कार्यमा ढिलाई हुन नदिने अठोट गरेका छन् ।
कार्यक्रममा सांसद गगनकुमार थापाले सडक निर्माणका लागि आइपर्ने कुनै पनि समस्या आफूले जुनसुकै निकायमा पुगेर समाधान गरिदिने बताए । उनले सामान्य समस्या देखाएर बाहना नगर्न आग्रह गर्दै अब पनि काममा सुधार नआए ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिए।
उनले सबैभन्दा कम मूल्यमा टेण्डर हाल्नेलाई काम गर्न दिने व्यवस्थाले निर्माण व्यवसायीहरू गैरजिम्मेवार भएको अनुभव सुनाउँदै सक्नेभन्दा थोरै मूल्यमा टेण्डर हाल्न नपाइने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
टेण्डर हाल्ने बेलामा थोरै मूल्य राख्ने र पछि नाफा भएन भन्दै आफैँले तोकेको रकममा काम गर्न चासो नदिने प्रवृतिका कारण निर्माण व्यवसायीहरूले झुलाउने गरेको उनले बताए ।
कार्यक्रममा सडक विभागका महानिर्देशक गोपाल सिग्देलले सबै सडक योजनाहरू अन्तिम चरणमा पुगेकाले कपनको रूप चाँडै नै फेरिने बताए ।
सडक निर्माण व्यवसायीहरूले सम्झौता गर्दा नै असार, साउन र भदौमा काम नगर्ने सम्झौता हुने भएकाले अहिले सडकमा अस्तव्यस्त हुनु स्वभाविक भएको भन्दै उनले अब तीव्र रूपमा काम हुने बताए ।
आफू हरेक १५ दिनमा सडकको अनुगमनका लागि कपनमा आउने प्रतिबद्धता जनाउँदै महानिर्देशक सिग्देलले काममा आलटाल गर्नेले कुनै पनि बाहनामा छुट्कारा नपाउने चेतावनी दिए।
कार्यक्रममा सडक विभागका क्षेत्रीय निर्देशक शिवहरी सापकोटाले हरेक हप्ता कपन क्षेत्रमा सडकको अनुगमन गर्ने बताउँदै हरेक हप्ता केही न केही सुधारको महसुस गराउने अठोट व्यक्त गरे । उनले भोलि बुधबार उपत्यका विकास प्राधिकरण र विद्युत प्राधिकरणसँग छलफल गरेर समस्याहरूको गाँठो फुकाउने गरी छलफल गर्ने जानकारी दिए।
कार्यक्रममा निर्माण व्यवसायीहरूले अनेक विवाद र प्राविधिक समस्याका कारण सहज रूपले काम गर्न नपाएको बताएका थिए भने स्थानीय बासिन्दाले निर्माण व्यवसायीहरूको गैरजिम्मेवार व्यवहार र सेवा भन्दा नाफालाई बढी ध्यान दिने गरेकाले समस्या भएको बताउँदै आक्रोश पोखेका थिए ।
सांसद गगनकुमार थापाको पहलमा कपन क्षेत्रका लागि मात्रै सडक सम्वन्धी दर्जर्नौं योजनाहरू परेको र एकैचोटी निर्माण कार्य भइरहेकाले व्यवस्थापनमा समस्या भएको सरोकारवालाहरूले बताएका छन् ।