मानव बेचबिखन विरुद्धको ११ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
यो वर्ष ‘अबको गन्तव्य, मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदैछ । यसै अवसरमा काठमाडौंमा मंगलबार बिहान विभिन्न चेतनामूलक र्याली निकालिएको थियो ।
काठमाडौंको भृकुटीमण्डलबाट सुरू भएको र्याली, भद्रकाली, आरएनएसी, जमल हुँदै कमलादीमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । र्यालीपछि आयोजित कोण सभामा बोल्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले आर्थिक सबलीकरणको माध्यामबाट मानव बेचबिखनलाई न्यूनीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिरहेको दाबी गरिन् । मन्त्री कोइरालाले मानव बेचबिखन अन्त्य गर्न सरकारले गरिबी हटाउने कामलाई विशेष जोड दिने नीति लिएको पनि स्पष्ट पारे ।
अधिकारकर्मी सुशीला श्रेष्ठले मानव बेचबिखन अन्त्य गर्न भएका कानूनलाई कडाईका साथ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिईन् ।
बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरू गरिएको हो ।
अन्तराष्ट्रिय स्तरमा भने यो दिवस जुलाई ३० तारिखमा मनाउने गरिन्छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ ।
संविधानले मानव बेचबिखन तथा दास बनाएर राख्न नपाउने व्यवस्था छ । नेपालमा हाल ६ हजार १ सय महिला तथा बालबालिका बेचबिखनमा परेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा अौँल्याइएको छ ।