पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा बस्दै आएकी एक महिला व्यवसायी, आफन्त र छिमेकीलाई झण्डै ४० करोड रुपैयाँ ठगेर बेपत्ता भएकी छन् ।
डेढ दशकअघिदेखि धेरैसँग पैसाको लेनदेन र कारोबार गरेर मन जित्दै आएकी स्यांजा भाटखोला घर भई चाउथेमा बस्दै आएकी ४२ वर्षीया देवकुमारी भुजेल ५३ जनालाई ठगेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।
पोखराको बिरौटा बस्दै आएकी प्रमिला रानाभाटले भुजेलले आफ्नो दुई करोड रुपैयाँ ठगिएको बताईन् । पन्ध्र वर्षसम्म उनीहरूसँग आफूले लेनदेनको व्यवहार गर्दै आएकामा बेलाबेलामा लगेको पैसाको व्याज समयमै दिने र मागेका समयमा पैसा पनि फिर्ता गरिहाल्ने गरेकाले आफू विश्वासमा परेको उनले बताईन् ।
स्यांजा घर भई बगाले टोलमा बस्दै आएकी निर्मला शर्मा पराजुलीले आफू ९० लाख रुपैयाँ ठगिएको बताईन् । अनेक बहाना गरेपछि आफूसँग भएको ८२ लाख रुपैयाँ र भाइसित मागेर आठ लाख रुपैयाँ निजलाई दिएको जिकिर गरे ।
यस्तै, बिरौटा बस्ने गायत्री अर्यालको ३५ लाख रुपैयाँ र मासवारकी सुशीला सिग्देलको १० लाख रुपैयाँ लिएर भुजेल भागेको प्रहरी प्रवक्ता खत्रीले बताए । भारतीय सेनाबाट सेवानिवृत्त लक्ष्मण थापा, एक छोरा र दुई छोरीसहित उनी बेपत्ता भएपछि ठगिएका महिलाले उनको खोजी गर्न प्रहरी कार्यालयमा निवेदन दिएका छन् । रासस