सरकारले ऊर्जासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न टोल फ्री नम्बर ११५१ संचालनमा ल्याएको छ ।
सोमबार ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच ऊर्जासँग सम्बन्धित जनताको गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यका साथ टोल फ्रि नम्बर ११५१ सेवाको शुभारम्भ गरेका हुन् ।
टोल फ्री नम्बरले जनताको गुनासोलाई सम्बोधन गर्ने र त्यस सेवाले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई व्यवस्थित, पारदर्शी र गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री शाहीले विश्वास व्यक्त गरे। उर्जा मन्त्रालयले टोल फ्री नम्बरमार्फत् जनताका मागलाई तत्काल सम्बोधन गर्ने तयारी गरेको हो ।
मन्त्री शाहीले जनतालाई सोझै सरकारसँग जोडने माध्यमको रूपमा पनि टोल फ्री नम्बर सेवा संचालनमा ल्याउनु परेको स्पष्ट पारे । उनले यो सेवाबाट मुलुकको उर्जा क्षेत्रको विकासमा जनताको सहभागिता सुनिश्चित हुने विश्वास पनि व्यक्त गरे ।
प्राधिकरणले सो हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घण्टा कार्यरत रहनेगरी तीन/तीनजनाका दरले कर्मचारी उपलब्ध गराएको छ । मुलुकभरका वितरण केन्द्रका कर्मचारीले उपभोक्तालाई राम्रो व्यवहार नगरेको, मिटर लिँदा घुस मागेको, ट्रान्सफर्मर बिग्रेको लामो समय हुँदा पनि मर्मत नगरेको जस्ता गुनासा सिधै ११५१ नम्बरमा फोन गर्न सकिनेछ ।
सो नम्बरमा एकैपटक तीनजनाले फोन गर्न सक्नेछन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीलाई सहज रूपमा सेवा दिन र कुनै गुनासो भए सिधै सम्पर्क गर्न सहज होस् भनेर टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको बताए ।
मोबाइल एप्स पनि आयो
प्राधिकरणले ‘एनइए अफिसिएल’ नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याएको छ । प्राधिकरणको आइटी विभागले तयार पारेको सो एप्लिकेसनमा प्राधिकरणका सबै गतिविधि उपलब्ध हुनेछ । ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन् ।
यस्तै गुनासो पनि सोही एप्लिकेसनमार्फत गर्न सक्नेछन् भने कुन स्थानमा विद्युत् काटियो, त्यसको कारण केहो, कति समयमा आउँछ भन्ने सूचना तथा जानकारी लिन सक्नेछन् । प्राधिकरणका प्राविधिक विभाग प्रमुख सञ्जय उपाध्यायका अनुसार एप्स सञ्चालनमा आएको छ । सो एप्स गुगल प्ले स्टोर एप र एपस्टोरबाट डाउनलोड गर्न सकिनेछ ।