८८ किलो सुन तस्करीका नाइके चिनियाँ नागरिक


नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले सोमबार राति २ बजे क्षेत्रपाटीबाट बरामद गरेको ८८ केजी सुनको मुख्य तस्कर चिनियाँ नागरिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सुनसहित पक्राउ परेका गाडी चालक मनोज अधिकारीले दिएको बयानका आधारमा प्रहरीले एक चिनियाँ युवालाई पक्राउ गरिसकेको छ। अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बरामद सुन नेपाल-चीनको केरुङ नाका हुदैँ नेपाल भित्रिएको र यो तस्करीमा चिनियाँ नागरिक सलंग्न रहेको बताएका छन्।

पक्राउ परेका चिनियाँ युवाले अर्का चिनियाँ नागरिकलाई चिनियाँ भाषामा एसएमएस गरेको पाइएपछि प्रहरीले उनको एसएमएस नेपाली भाषामा अनुवाद गर्न पठाएको छ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोमबार बिहान २ बजे काठमाडौंको क्षेत्रपाटीस्थित प्रहरी विट नजिकैबाट बा १७ च ६४२७ नम्बरको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएका थियो।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीसहितको टिम सो गाडी खोज्दै क्षेत्रपाटी पुगेको थियो। प्रहरी श्रोतका अनुशार शुरुमा गाडी मात्र पार्किङको अवस्थामा भेटियो। गाडीमा कोही मानिस थिएन।

त्यसपछि महाशाखाको टोलीले गाडी कुरेर बस्यो। केही प्रहरी लुके भने केही प्रहरी बिट नजिकै रहेको रिक्सा चलाउन थाले।

करिब आधा घन्टापछि चालक एक्लै आएर गाडीमा बसे। उनले गाडी स्टार्ट गर्न मात्र के थालेका थिए प्रहरीले उनलाई नियन्त्रणमा लियो। कालो टेपले बेरिएको अवस्थामा टन्नै सुनजस्तो वस्तु देखियो।

त्यसपछि प्रहरीले महाशाखामा ल्याएर सुन गन्न थाल्यो। एक एक केजीका ८८ वटा सुन भेटिए।

गाडी चालक अधिकारी मकवानपुरको गढी गाउँपालिका बासिन्दा हुन्। उनले पनि सुन चिनियाँहरुको भएको बताएका छन्।

यो अहिलेसम्मकै ठूलो मात्रामा बरामद भएको सुन हो। एक साताको बिचमा सिआइबीले पनि काठमाडौंबाट २२ किलो सुन बरामद गरेको थियो। ६ महिनाअघि सिआइबीले साढे ३३ किलो सुन विमानस्थलबाट बरामद गरेको थियो।

केरुङदेखि काठमाडौं आइपुग्न नेपाल प्रहरी, शसस्त्र र नेपाल आर्मीको १३ वटा चेकिङ प्वाइन्ट छ। यसरी १३ वटा चेकिङ छल्दै कसरी सुन काठमाडौं आइपुग्छ त्यो रहस्यको विषय छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.