क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद (भिडियो)

४३ करोड मूल्य बराबरको सुन


प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो मात्रामा सुन बरामद गरेको छ।

क्षेत्रपाटीबाट महानगरीय अपराध महाशाखाले ८८ किलो सुन बरामद गरेको एसएसपी दिवेश लोहनीले जानकारी दिए। बा १७ च ६४२७ नम्बरको गाडीमा राखिएको अवस्थामा सुन बरामद गरिएको उनले बताए ।

गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको गोप्य सूचना पाएपछि प्रहरीले गए राति १० बजेदेखि नै उक्त गाडीको निगरानी गरेको थियो ।

सोमबार बिहान गाडी  चालकले स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो। स्ट्रोम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको एसएसपी लोहनीले जानकारी दिए।

आजको बजार भाउ अनुसार बरामद सुनको मूल्य ४३ करोड ५६ हजार हुन आउँछ।

यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो ।

प्रहरीले सुनसँगै १३४ थान आइफोन, सामसुम, ओपो लगायतका मोवाइल र कपडा पनि बरामद गरेको छ । अहिले गाडीको पार्टस खोलेर हेर्ने काम भइरहेको छ ।

उक्त सुन केरूङबाट काठमाडौं भित्रिएको प्रहरीले जनाएको छ। प्रहरीले सुन ल्याएको अभियोगमा एक चिनीयाँ नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले गत फागुनमा ३५ किलो अवैध सुन बरामद गरेको थियो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.