रामेछाप जिल्ला कुम्गुस्थलीका विनोद सन्तान र सम्पति दुवै भएर पनि एक्लो जिन्दगी बिताउन बाध्य छन्।
झण्डै ५० वर्ष उमेरका उनी तीन वर्षसम्म रातोपुलमा मागेर गुजारा गर्थे । अहिले उनी एउटा संस्थामा आश्रय लिइरहेका छन् । उनको मिर्गाैलाले काम नगर्ने भएको छ तैपनि उनको उपचार हुनसकेको छैन । संस्थाले विभिन्न माध्यमबाट उनकी छोरीको खोजी गरेको छ । एक/दुई दिनमा लिन आउँछु भनेर गएका छोरीज्वाइँ एक महिना बित्दासमेत फर्किएका छैनन् । उनी आफैंँ पनि बरु पाटी फर्कर्ने तर सन्तानसँग नफर्कने बताउँछन् ।
नेपाल र भारतका ठूला होटलमा काम गरेका विनोद रोग बढ्दै जाँदा असह्य भए । सन्तानको माया र स्याहार चाहिने उमेरमा बेवास्ता गरिएपछि मन मरेर उनी सडकमा पुगे । युवाको एउटा टोलीले उनलाई उद्धार गरेर मानवसेवा आश्रम पुर्यायो ।
रोगसँग लडिरहेका उनी अहिले पनि उपचार पाएमा पहिलेको जीवनमा फर्कने आशा गर्छन् । ‘कुक’ का रूपमा काम गरेर जीविकोपार्जन गर्ने इच्छा उनमा भएको उनको उद्धार गर्ने समाजसेवी दुर्गानाथ दाहाल बताउँछन् । दाहाल भन्छन्, ‘महँगो पर्ने भएकाले उनको उपचार गर्न भने सकिएको छैन ।’
विनोद जस्तै सन्तान भएर पनि नवलपरासीका हरि सुवेदी एक्लो भएका छन् । दुई छोरा र एक छोरीका पिता उनी कडा खालको मानसिक रोगबाट ग्रस्त छन् । उनको रोगकै कारण श्रीमतीले अर्कासँग विवाह गरिन् । काठमाडौंमै रहेकी छोरीले केही वर्ष हेरे पनि अहिले वास्ता गरेकी छैनन् । विदेशमा रहेका छोरा अहिले स्वदेश फर्किएका छन् । तैपनि हेर्ने अवस्था छैन । उनलाई छोरीले पशुपतिस्थित वृद्धाश्रम पुर्याएकी थिइन् परिवारमा सबै भए पनि उनलाई परिवारमा फर्काउन सकिने अवस्था नभएको आश्रमले बताएको छ ।
विभिन्न कारणले परिवार छाडेर बाँच्नका लागि सडकमा पुग्नेको संख्या बढ्दो छ । पारिवारिक बेमेल नै सडकमा पुग्नाको मुख्य कारण बनेको छ । सडकमा मागेर सडक पेटी वा पाटीमा रात कटाउनेमा सबैभन्दा धेरै ज्येष्ठ नागरिक छन् । कतिपय सन्तान नभएर त कति भएका सन्तानले बेवास्ता गर्दा सडकमा मागेर जीवन धानिरहेका छन् ।
लगनखेलमा मानसिक अस्पताल भएका कारण लगनखेल, सातदोबाटो, जावलाखेललगायत स्थानका पाटीमा मानसिक रोग लागेर सडकमा पुगेका धेरै भेटिन्छन् । मानवसेवा आश्रम नामक संस्थाले सडकका धेरैको उद्धार गरिरहेको छ तर सडक खाली नै गर्न भने सकेको छैन ।
सडकमा मागेर जीवन धान्नेमा कतिपय सन्तान नै नभएका ज्येष्ठ नागरिक छन् कतिपय सन्तान भएर पनि सडक मै बस्न बाध्य छन् । देशभरका आठ आश्रममा गरेर झण्डै एक हजार जनाको उद्धार भएको बताइएको छ। रासस