तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङमा अवस्थित झाँक्री गुफा प्रशस्तै पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेको छ । गुफाको प्रचारप्रसार र पूर्वाधार विकासमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
गुफासम्म पुग्नका लागि सडक बनाइए पनि सवारी साधन सञ्चालन योग्य भइसकेको छैन । कात्तिके सामुदायिक वनभित्र रहेको गुफा परिसरलाई ‘कात्तिके पर्यटन क्षेत्र’का रूपमा विकास गर्ने ध्येयले स्थानीयवासीले पहल थालेका छन् ।
परापूर्वकालमा वनझाँक्री यही गुफामा बस्ने भएकाले यसलाई झाँक्री गुफा भनिएको स्थानीयवासीको भनाइ छ । वनझाँक्रीले यस गुफामा राखेर बनाएका धामीझाँक्री र बूढीबजुहरू अझै गाउँमा रहेको बताइन्छ ।
कात्तिके सामुदायिक वन उपभोक्ता समितिकै पहलमा गुफामा सिँढी निर्माण, गुफा नजिकै रहेको पोखरी सरसफाइलगायत काम गरिएको अध्यक्ष गोपी ढुंगानाले बताए । उक्त कार्यका लागि जिविसले २० लाख रुपैयाँ बजेट उपलब्ध गराएको र स्थानीयवासीले चार लाख २३ हजार १ सय ८७ रुपैयाँ बराबरको श्रमदान गरेर कुल २४ लाख २३ हजार १ सय ८७ रुपैयाँ खर्च भएको बताइएको छ ।
‘गुफाको प्रवर्द्धनका लागि घरवास, भ्यू–टावर, बिजुलीको व्यवस्थालगायत पूर्वाधार विकास गर्ने लक्ष्य लिएका छौँ, बजेटको अभाव छ’– अध्यक्ष ढुंगानाले भने । सो गुफा पुग्न आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारदेखि एक घण्टा पैदल हिँड्नुपर्छ । गुफाको संरक्षणको प्रयास थालिएपछि दैनिक ३०–४० आन्तरिक पर्यटक अवलोकनका लागि आउन थालेका स्थानीयवासी सुभास गौतमले बताए ।
गुफा परिसरमा पूर्वाधार विकास गरेर प्रचारप्रसार गर्नसके यस क्षेत्रकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नसक्ने उनले जानकारी दिए । वरिपरि विभिन्न प्रजातिका फूलका साथै खुला चौर फाँटमा रहेको यस क्षेत्रका छुट्टै विशेषता छ । समुद्र सतहबाट दुई हजार २०० मिटरको उच्चाइमा रहेको गुुफामा बादलले लुकामारी खेलिरहन्छ । गुफाको परिसरबाट छिनमै आकाश उघ्रिन्छ ,छिनमै बादलले छोप्ने गर्छ ।
गुफाको प्रवेशद्वारमा सेती देवीको मन्दिर छ । चाडपर्वमा गुफाबाट नौमती बाजाका धुन आउने प्रमुख विशेषता रहेको अध्यक्ष ढुंगानाले बताए । चार तला रहेको उक्त गुफाको दुई तहसम्म सजिलै पुग्न सकिन्छ । पहिलो र अन्तिम तलाको दोस्रो र तेस्रो तलाबाट अवलोकन गर्न सकिन्छ । गुफाको संरक्षण र प्रचारप्रसारका लागि काम थालिने आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताए । रासस