पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरी क्षेत्रीय सम्मेलन सम्पन्न


पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरीको क्षेत्रीय सम्मेलन शनिबार सम्पन्न भएको छ । नेपाल ३२९२ अन्तर्गत ४ नं क्षेत्रको सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रमको समापनका अवसरमा रोटरी इण्टरनेशनल  डिस्ट्रिक्ट ३२९२ का पूर्व गभर्नर केशव कुँवरले पाँचबुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा रोटरी नेपाल ३२९२ अन्तर्गतका सबै क्लब भेला भई रोटरीको छवि प्रवर्द्धन गर्नेखालका साझा कार्यक्रम तय गर्ने र कार्य गर्ने रहेको छ । यस्तै रोटरी नेपाल ३२९२ अन्तर्गत जोन ४ का सबै क्लबबाट पनि रोटरीको छवि प्रवर्द्धन गर्नेखालका साझा कार्यक्रम तय गरी कार्य अघि बढाउने घोषणा भएको छ ।

यसैगरी कुनै योजनाको पहिचान गरी स्थानीय सरकार तथा अन्य वित्तीय संस्थासँग समन्वय गर्ने तथा त्यसका लागि आवश्यक कागजपत्र केन्द्रीय वा क्षेत्रीय रूपमा तयार गरी सम्बन्धित स्थानीय क्लबलाई सहयोग गर्ने घोषणा गरिएको छ ।

रोटरी क्लब अफ लमजुङको आयोजनामा भएको सो कार्यशालामा विभिन्न जिल्लाका रोटरीमा आबद्ध एकसयभन्दा बढी रोटरी प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा सामाजिक उत्तरदायित्व, क्लबका रणनीतिका विषयमा मुख्य छलफल भएको थियो ।

कार्यक्रममा रोट्र्याक्ट क्लब अफ लमजुङका पूर्व अध्यक्ष सन्देश पौडेलले जिल्लाको पर्यटकीय महत्वका बारेमा जानकारी गराएका थिए । यस्तै पर्यटन अगुवा एवं रोटरी क्लब तनहुँका हरिसिंङ गुरुङले लमजुङ, तनहुँ हुँदै लुम्बिनीसम्मको पर्यटन पदमार्गका बारेमा जानकारी गराएका थिए । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.