असहाय, गरीब र जेहन्दार छात्रछात्राको पठन कार्यलाई सहयोग पुर्याउने उद्देश्यले एक ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको छ ।
शनिबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ५१ हजार १ सय रुपैयाँ कोषमा जम्मा गर्दै उनकै पहलमा औपचारिक रूपमा ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको हो । कोटेश्वरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले गरीब, जेहेन्दार छात्रछात्राको पठनकार्यलाई सहयोग पुर्याउने उद्देश्यले उक्त कोषको स्थापना गरिएको बताए।अर्थमन्त्री कार्कीले सुरूआत गरेको उक्त कोषमा शनिबार नै तीन लाख ७३ हजार रुपैयाँ रकम जम्मा भएको छ । रकम देशभरका सबै जिल्लामा बसोबास गर्ने सुतार कार्कीले जम्मा गरेका हुन् ।
कोषमा रकम उपलब्ध गराउनुहुने अन्य व्यक्तिमा क्रमशः सुरेन्द्र कार्की ५० हजार १ सय ५ रुपैयाँ, कुमार कार्की ५० हजार १ सय रुपैयाँ, विष्णुबहादुर कार्की ५० हजार १ सय ५ रुपैयाँ, सन्तोष कार्की पाँच हजार रुपैयाँ, श्रीमन कार्की ११ हजार रुपैयाँ, रामजी कार्की १५ हजार रुपैयाँ र राजाराम कार्कीले ११ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएका थिए ।
त्यसैगरी, सो कोष अभिवृद्धिका लागि शनिबार इन्द्रबहादुर कार्कीले पाँच हजार ५ सय रुपैयाँ, बाबुकाजी कार्कीले नौ हजार ९ सय ९९ रुपैयाँ, ताराबहादुर कार्कीले ११ हजार १ सय ११ रुपैयाँ, संकट कार्की पाँच हजार १ सय ११ रुपैयाँ, प्रद्युम्न कार्की सात हजार रुपैयाँ, टीकाराज कार्की सात हजार ११ रुपैयाँ, प्रेम कार्की पाँच हजार पाँच रुपैयाँ, रामहरि कार्की तीन हजार ३ सय ३३ रुपैयाँ, मोहन कार्की पाँच हजार रुपैयाँ, शिवराज कार्की पाँच हजार १ सय रुपैयाँ र नकुल कार्की पाँच हजार ५ सय ५५ रुपैयाँ गरी २१ जना व्यक्तिले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
कोष अभिवृद्धि समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले पढ्नबाट बञ्चित हुन पुगेका बालबालिकाको हितमा कोष स्थापना गरिएको जानकारी दिए । उनले कोषमा क्रमशः रकम बढाउँदै जाने र खर्चको अभावमा पढ्न नपाएका बालबालिकालाई यसको व्याजबाट रकम उपलब्ध गराउँदै जानुपर्ने बताए ।
सुतार कार्की सेवा समितिले समाजमा रचनात्मक कार्य अगाडि बढाउने नीति लिएलगत्तै मन्त्री कार्कीले शनिबार समितिको १६औँ साधारणसभामा सो रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा समितिका अध्यक्ष दिव्यध्वज कार्कीले मुलुकका कुनै पनि स्थानका असहाय तथा जेहेन्दार बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गर्नुपरेको बताए । रासस