संयुक्त राष्ट्रसंघ र नेपालबीच ५ वर्षे विकास सहायता संरचनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक भेरिया जुलियान्ड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ५ वर्षे विकास सहायता संरचनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालको समावेशी आर्थिक वृद्धि, फराकिलो सामाजिक विकास, वातावरणीय र पर्यावरणीय क्षेत्रको विकास गरी विपद् व्यवस्थापन र सुशासनको क्षेत्रमा संयुक्त राष्ट्र संघले पाँच वर्षसम्म मिलेर काम गर्ने गरी समझदारी भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. वाग्लेले जानकारी दिए ।
समझदारी अनुसार संयुक्त राष्ट्रसंघ अन्तरगत संचालित सबै कार्यक्रमहरूले सो क्षेत्रको विकासका लागि आर्थिक सहायता उपलब्ध गराउनुपर्नेछ । नेपालमा हाल करीब २५ वटा संयुक्त राष्ट्रसंघीय कार्यक्रमहरू संचालनमा रहेका छन् ।
कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघले ६ सय ३५ मिलियन अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने सहमति पनि गरिएको छ ।
पाँच वर्षे विकास सहायता संरचना सम्बन्धी समझदारीले नेपालको विकासको दिशा निर्दिष्ट हुने लक्ष्य पनि लिइएको छ । कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघकी आवासीय संयोजक जुलियान्डले नेपालको दिगो विकासका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी थिईन् ।
संयुक्त राष्ट्रसंघले नेपालको समग्र विकासका लागि समुदायमा आधारित विभिन्न खालका कार्यक्रम संचालन गर्दै आएको छ ।