काठमाडौं जिल्ला अदालतमा हुण्डी कारोबार गर्ने सात जनाविरुद्ध चार अर्ब १४ करोड रुपैयाँको बिगो दाबीसहित सोमबार मुद्दा दायर गरिएको छ ।
राजस्व अनुसन्धान विभागले सोमबार सो राशिको बिगोसहित दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर गरेको विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए ।
डेढ वर्षअघि काठमाडौं प्रहरीले सुनधाराको जेबो ट्राभल्समा छापा मारी १२ लाख रुपैयाँ विदेश पठाउन लागिएको हुण्डी रकम जफत गरेको थियो । हुण्डीसहित कम्पनीबाट कामदार पुन र नेपाललाई पक्राउ गरिएको थियो ।
सो ट्राभल्सका मालिक मिलन र धरमले विदेशमा बसेर हुण्डी कारोबार गर्ने गरेका थिए । अहिले पनि उनीहरू फरार छन् । प्रहरीले छापा मार्दा ट्राभल्सबाट राजेन्द्र र विद्यादेवीका नाममा काटिएको ५० लाख रुपैयाँको चेकसमेत जफत गरेको थियो ।
विभागले ट्राभल्सको तथ्यांक राख्ने कम्प्युटर जफत गरेर अध्ययन गर्दा साढे चार महिनाको तथ्यांकमा चार करोड रुपैयाँको हुण्डी रकम देखिएको थियो । रासस