सर्लाहीका १ सय १३ परिवारलाई बारबरा शान्ति प्रतिष्ठानको राहत


बारबरा शान्ति प्रतिष्ठान नेपालले हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा सर्लाहीको सिसौटका वाढी डुवानमा परेका चमार, डोम र मुस्लिम समुदायका १ सय १३ परिवारलाई राहत वितरण गरेको छ।

सर्लाहीको अति विकट र पिछडिएको सिसौट गाउँ हाल रामनगर गाउँपालिकामा पर्छ । यहाँ चमार, डोम र मुस्लिम लगायतका विपन्न समुदायको बस्ती रहेको छ।

तीन साताअघि आएको अविरल बर्षाका कारण वागमती नदी गाउँबस्तीमा झिर्दा सिसौटको यो बस्ती पनि डुवानमा परेको थियो। डुबानका कारण यहाँका सयौं घर क्षतिग्रस्त भएका थिए भने हजारौं मानिस घरबारविहिन भएका थिए।

डुबानका कारण घरबारविहिन चमार, डोम र मुस्लिम समुदायका अति विपन्न परिवारलाई बारबरा शान्ति प्रतिष्ठान नेपालले राहत वितरण गर्ने निर्णय गरेको थियो।

प्रतिष्ठानको राहत कार्यक्रमलाई हैटौडा सामुदायिक आँखा अस्पतालको सहयोग रहेको थियो। प्रतिष्ठान र अस्पतालको टोलीले शनिबार सिसौटमा १ सय १३ घरमा राहत वितरण गरेको थियो।

प्रतिष्ठानले राहत वितरण गरेका सामाग्रीमा चामल, चिउरा, दाल, तेल, साबुन, जीवनजल, झुल, गम्छा, बच्चाहरुका लागि प्रतिघर ३ जोर नयाँ लुगा र व्लान्केट गरी ५ हजार बराबरको सामाग्री वितरण गरिएको थियो । भविष्यमा पनि यस गाउँमा स्वास्थ्य शिविर र अन्य सामाजिक कामका लागि प्रतिष्ठानले आउने योजना बनाएको निर्देशक शरद  अधिकारीले राहत वितरणको अवसरमा बताए।

यसअघि प्रतिष्ठानले डुबानमा परेको चितवनको माडी नगरपालिकाका बाढीपीडितका लागि भदौं२ गते ३ लाख रुपैयाँ सहयोग गरेको थियो। उक्त सहयोग राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा प्रतिष्ठानका सदस्य डा. स्वर्णीम वाग्लेले बाढी प्रभावित माडी नगरपालिकाको राहत कोषमा उक्त सहयोग हस्तान्तरण  गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.