सुपा देउरालीको दर्शन गर्न अाउने संख्यामा वृद्धि


प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्या वृद्धि भएको छ ।  विगतका वर्षको तुलनामा आजभोलि आउने दर्शनार्थीको संख्यामा दोब्बर भन्दा बढी छ ।

विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार भक्तजन आउने गरेकामा अहिले दैनिक एक हजारदेखि दुई हजारजनासम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताए ।

‘नेपाल मन्दिरै मन्दिरको देशको रूपमा चिनिन्छ र यहाँका कतिपय मन्दिरमा मासिक लाखौ भेटी संकलन भएपनि उपयोग भएको सुनिदैन तर जिल्लाको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्वको यस मन्दिरको भेटी भने विकास निर्माणका काममा उपयोग भइरहेको छ ।

मन्दिरमा चढाएको भेटीबाट खाँचीकोटस्थित आदर्श माविमा छ जना र सितापुरस्थित शान्ति निमाविमा चार शिक्षकलाई तलब उपलब्ध गराउन मासिक एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले बताए ।

यस्तै, सन्धिखर्कमा रहेको पाणिनी बेद विद्याश्रमका लागि वार्षिक एक लाख २० हजार रुपैयाँ उपलब्ध गराउनुका साथै अन्य विकास निर्माणका काममा पनि सहयोग उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।

गत वर्ष सो मन्दिरमा ६० लाख रुपैयाँ आम्दानी भएको थियो भने यसवर्ष ८० लाख रुपैयाँ  पुग्ने अनुमान छ । वैशाख १ गते नयाँ वर्षको दिन १२ हजार भन्दाबढीले दर्शन गरेको र उक्त दिन मन्दिरमा एक लाख नौ हजार आठ सय रुपैयाँ भेटी संकलन भएको उनको  भनाइ छ ।

मन्दिरको दर्शनका लागि अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, गुल्मी, रुपन्देहीबाट बढी पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाटसमेत धार्मिक पर्यटक सुपादेउरालीमा दर्शन गर्न आउने गरेका छन् ।

विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले विद्यालय सञ्चालनमा सहज भएको आदर्श मावि प्रधानाध्यापक डिल्लीराज थापाले बताए।
मन्दिर व्यवस्थापन समितिले यहाँ उठेको रकम दूरुपयोग नगरी मन्दिर सञ्चालन विद्यालय सञ्चालन, विकास निर्माण, बिरामीको उपचारमा सहयोग गर्दै आएको छ । धेरै भेटी संकलन हुने नेपालका अन्य ठूला मन्दिरमा पनि उठेको भेटी पनि यसैगरी सामाजिक काममा लगाउनुपर्नेमा समितिका उपाध्यक्ष गोवर्द्धन थापाले जोड दिए ।
सुपादेउराली नजिकै नरपानीको डाँडाको मनोरम दृश्यका साथै विभिन्न हिमाल देखिने भएकाले यस क्षेत्रको पर्यटन विकासमा पनि टेवा पुग्ने देखिएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.