गुर्मित राम रहिमलाई जेल सजाय सुनाएपछि भारतमा भड्कियो हिंसा


शुक्रबार एक स्वघोषित गुरु गुर्मित राम रहिम सिंहलाई अदालतले बलात्कारमा दोषी ठहर गर्दै जेल चलान गर्ने फैसला गरेपछि भारतका विभिन्न राज्यमा हिंसा भड्किएको छ।

पञ्जाब र हरियाणा राज्यमा भएको हिंसामा अहिलेसम्म १२ जनाको ज्यान गइसकेको छ भने दिल्लीलगायत अन्य राज्यमा पनि उनका समर्थकले हिंसात्मक प्रदर्शन गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ती राज्यमा रहिमका समर्थकले सार्वजनिक बस, रेलवे स्टेशन र सरकारी कार्यालयमा आगजनी गरेका छन्। केही ठाउँमा कफ्र्यू जारी गरिएको छ भने ती राज्यका मुख्यमन्त्रीले शान्त रहन सार्वजनिक अपिल गरेका छन्। तर रहिमका समर्थकले हिंसात्मक प्रदर्शन जारी राखेका छन्।

अदालतले उनका समर्थकको प्रदर्शनले सार्वजनिक सम्पत्तिमा भएको क्षतिको बदलामा उनको सम्पत्ति जफत गर्ने निर्णय गरेको छ।

को हुन् रहिम?
५० वर्षिय रहिम राजस्थानको गंगानगरमा जन्मिएका थिए। गाउँकै स्कुलबाट उनले माध्यामिक तहको शिक्षा पूरा गरे। उनको घरमा पत्नी तीन छोरी र एक छोरा छन्।

२३ वर्षको उमेरमा उनी देरा सच्चा सौदाको प्रमुख भएका थिए। ‘गैरनाफामुखी सामाजिक कल्याण र आध्यामिक संस्था’ भनिने देरा सच्चा सौदाका संसार भरि ४६ वटा केन्द्र छन् भने करिब छ करोड मानिस यसका अनुयायी छन्। सन् १९४८ मा शाह मस्तानाले यसको स्थापना गरेका थिए।

रहिम १९९० मा यसको प्रमुख भएका थिए।  त्यसपछि संस्था र उनी बेलाबेलामा विवादमा आइरहन्थे।

सन् २००२ मा भारतको संघीय प्रहरीले रहिममाथि बलात्कार र हत्या आरोपमा छानबिन थालेको थियो।

‘रक स्टार बाबा’ नामले समेत चिचिने रहिम गीत गाउने, कन्सर्ट गर्ने, म्युजिक भिडियो र फिल्म समेत खेल्ने गर्थे।

सन् २००७ मा शिख गुरु गोविन्द सिंहको भेषमा एक विज्ञापनको भिडियोमा देखिएपछि उनको आलोचना भएको थियो। २०१५मा उनी एक भिडियोमा हिन्दू भगवान बिष्णुको अवतारमा देखिएपछि उनीविरुद्ध उजुरी परेको थियो। यो अवधिमा उनी दर्जनभन्दा बढी आरोपमा मुछिएका छन्।

उनको वेवसाइटमा आध्यात्मिक गुरु, समाजसेवी, गायक र खेलाडीका रूपमा परिचय दिइएको छ।

ठूलो मात्रामा समर्थक रहेका उनको देरा सच्चा सौदा सत्तारुढ भारतीय जनता पार्टी र प्रतीपक्षी कांग्रेस आईले समेत सहयोग गर्दै आएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.