गैरआवासीय सङ्घ नेपाल (एनआरएन)का अध्यक्ष शेष घले नेतृत्वको टोली र विभिन्न सङ्घसंस्थाले सप्तरीको बाढी प्रभावित क्षेत्रमा राहत वितरण एवं स्वास्थ्य उपचार गरेको छ ।
सप्तरीको तिलाठीस्थित राप्राविमा त्यहाँ रहेका करीब ९ सयभन्दा बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ ।
उनीहरुको परिवारलाई एउटा त्रिपाल, एक थान झुल, २५ किलो चामल, दुई किलो दाल, नून, चिनी र तेललगायतका राहत प्याकेज वितरण गरिएको एनआरएनले आज जनाएको छ । एनआरएनले हालसम्म करीब तीन हजार घरपरिवारलाई राहत वितरण गरिसकेको एनआरएनको दाबी छ । एनआरएनको टोलीले नेपाल सरकारसँग समन्वय गरी सप्तरी जिल्लाका बाढीपीडितलाई मंगलबारदेखि विभिन्न प्रभावित क्षेत्रमा लगातार राहत बाँड्दै आएको बताइएको छ ।
बाढीको प्रकोप शुरू भएसँगै गैरआवासीय नेपाली सङ्घले आपत्कालीन राहत कोष स्थापना गरी रकम संकलन अभियान शुरू समेत गरेको थियो । त्यस्तै एनआरएनले सप्तरीमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।
‘बाढी र डुबानबाट प्रभावित सप्तरीको देबर्साइन, रम्पुरा महलनीया, सकरपुरा डलवा, मैनाकडेरी, पोर्ताहा, भारदह र तिलाठीलगायतका ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको सो संस्थाले जनाएको छ ।
एनआरएनको स्वास्थ्यकर्मीको टोलीमा पाँचजना विशेषज्ञ डाक्टर र १० जना नर्स तथा स्वयंसेवकले उपचार गराइरहेको बताइएको छ । करीब एक हजार ५ सय बाढीपीडितलाई अहिलेसम्म उपचार गरी औषधि पनि वितरण गरिएको छ ।
खासगरी उपचार गर्न आएका धेरैजसोमा पेट दुख्ने, झाडा बान्ता हुनेजस्ता समस्या देखिएको स्वास्थ्यकर्मीको टोलीले जनाएको छ ।
राहत कोषमा अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङले एक करोड रुपैयाँ सहयोग गरेका थिए । झण्डै दुई करोड रुपैयाँ संकलन गरी करीब पाँच हजार परिवारलाई राहत वितरण गर्ने लक्ष्यसहित एनआरएनको टोली सप्तरी आएको बताइएको छ ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौंले पनि एक दिन अगाडि सप्तरीको बाढीपीडितलाई विभिन्न ठाउँमा राहत सामग्री र स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको छ । उद्योग वाणिज्य सङ्घ सप्तरीको सहकार्यमा राजविराज नगरपालिका वडा नं २ का ५१ जना बाढीपीडित परिवारलाई राहत वितरण एवं स्वास्थ्य परीक्षण गरिएको उद्योग वाणिज्य सङ्घ सप्तरीका अध्यक्ष अरुण प्रधानले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं दैवी प्रकोप उद्धार समितिका ‘फोकल पर्सन’ जनक कोइरालाको उपस्थितिमा प्रतिपरिवार १० केजी बास्मती प्रिमियम चामल, तीन केजी मसुरोको दाल, एक थान त्रिपाल, एक कार्टुन खानेपानी र लत्ताकपडा वितरण गरिएको बताइएको छ ।
त्यस्तै, राजविराज–११ फर्सैठमा सञ्चालन गरेको स्वास्थ्य शिविरमार्फत ३५० जना बाढीपीडितलाई स्थास्थ्य उपचारपछि औषधि वितरण गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
ब्लु क्रस हस्पिटल, काठमाडौंका विशेषज्ञ डा स्मिता राई र हेल्थ असिस्टेन्ट पोखरी ढकालको नेतृत्वमा आएको सातजना नर्सको टोलीले स्वास्थ्य उपचारपछि विभिन्न प्रकारका औषधि वितरण गरिएको थियो ।
बाढीपीडित दुर्गन्धित पानी पिउन बाध्य
हालै आएको बाढी पहिरोका कारण प्रभावित भएका सप्तरीको सकरपुरावास दुर्गन्धित पानी पिउन बाध्य भएका छन् ।
साविकको सकरपुरा गाविस हाल तिलाठी कोइलाडी गाउँपालिका वडा नं ३ का झण्डै एक हजारभन्दा बढी परिवार खानेपानी ट्युबवेल बाढीमा पुरिएको र ट्युबवेलको पानीमा लेदो आउन थालेपछि उनीहरु स्वक्छ पानी खानबाट वञ्चित भएको स्थानीयवासीले गुनासो गरेका छन् ।
अहिले सो ठाउँमा रहेको ट्युबवेलले सफा पानी दिन छोडेपछि बाढीपीडित दुर्गन्धित पानीबाटै खाना पकाउन बाध्य भएको बाढीपीडितको भनाइ रहेको छ ।
त्यहाँ बाढीका कारण अधिकांश व्यक्तिको घरमा रहेको ट्युबवेल बाढीले डुबाउँदा हजारौँ व्यक्ति सो लेदो भएको दुर्गन्धित पानी खान बाध्य भएको सवल नेपालका शुभनारायण यादवले बताए ।
दुर्गन्धित पानी खाएकै कारण अहिले सो क्षेत्रका बाढीपीडित बिरामी पर्न थालेका छन् । बाढीपीडितमा झाडापखाला, निमोनिया, रुघाखोकी, आँखा पाक्ने, घाँटी दुख्ने र विभिन्न नदी र नालाबाट भासेर आएका सर्पका कारण सर्प टोक्नेलगायतका समस्या रहेको पाइएको यादवले बताए ।
यसैबीच त्यहाँ केही परिवारका लागि पानी शुद्धीकरण गर्ने पिल्स वितरण गरे पनि अधिकांश बाढीपीडित परिवारलाई नपुगेका कारण उनीहरू अहिले दुर्गन्धित पानीको प्रयोग गर्न बाध्य रहेको गुनासो पाइएको छ । रासस