पोखरा–लेखनाथ महानगरपालिका–१५ नयाँगाउँस्थित सेन्टमेरिज उच्च माध्यमिक विद्यालयले सप्तरी जिल्लाका बाढी पीडितलाई १० लाख रुपैयाँ मूल्य बराबरको नगद र जिन्सी सामग्री वितरण गरेको छ ।
विद्यालयले राजविराज–१५ देउरी भरुवाका पीडितलाई राहत वितरण गरेको विद्यालयका शिक्षक श्यामचन्द्र अगाञ्जाले जानकारी दिए ।
विद्यालयका शिक्षक अगाञ्जासहित जीतबहादुर खनाल, नारायण बराल, महादेव भण्डारी, श्यामचन्द्र अगाञ्जा, सुमन अधिकारी र विक्रम थापा राहत सामग्री लिएर त्यस ठाउँमा पुगेका थिए ।
विद्यालयले २१५ जना बाढी पीडितलाई खाद्यान्न, पकाउने भाँडा, त्रिपाल, लत्ताकपडा वितरण गरेको छ । शिक्षक अगाञ्जाकाअनुसार विद्यालयले नगदसहित प्रतिपरिवार चामल २५ केजी, दाल पाँच केजी, खाने तेल दुई लिटर, एक कसौडी, दुई थान थाल, एक थान बाल्टिन/पानी खाने मग, त्रिपाल वितरण गरेको छ ।
मृतक डोमी यादवको परिवारलाई नगद पाँच हजार रुपैयाँ किरिया खर्चका लागि सहयोग गरिएको बताइएको छ । रासस