सप्तरीको रुपनी गाउँपालिका–६ स्थित वीरेन्द्रबजारदेखि उत्तरपट्टिको बाटोमा बाढीले कटान गरेपछि आवतजावतमा समस्या भइरहेको छ ।
अविरल वर्षासंगै छेचुवाई खोलामा आएको बाढीले बाटो कटान गरेकाले सो बाटोबाट हिँड्ने सयौँ मानिसलाई समस्या भइरहेको स्थानीयवासी वृजमान तामाङले बताए । बाटोमा बाढी पसेर विभिन्न ठाउँमा खाल्डो बनाउने र भत्काउने गरेपछि सवारीसाधन आवतजावत गर्न र सोे बाटो भएर जाने मानिसलगायत कृषि उपज ओसारपसारमा समेत समस्या भएको तमाङले गुनासो गरे ।
कटान र टुटफुट भएको सो बाटो निर्माणका लागि वडा कार्यालयसहित सम्बन्धित निकायमा जानकारी गराइएको समेत उनले जानकारी दिए ।
बाटोको समस्या देखेपछि स्थानीयवासीले जेसीबीको सहायताले बाटो मर्मत गर्ने प्रयास गरेपनि विवाद भएपछि काम बीचमै रोकिएकाले पनि समस्या आएको स्थानीय लालबहादुर तामाङले जानकारी दिए ।
त्यहाँको छेचुवाई खोलाको पानी बस्तीमा पसेपछि एक दर्जन घर र सयौँ बिगाहा खेतीयोग्य जग्गा बाढीले डुबाएको छ । रासस