सय दिन कुरेर उडान अनुमति पाएको जहाज विमानस्थलमै बन्धक!


शनिबार बिहानै विराटनगर विमानस्थल डुबानमा पर्‍यो। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा डुबान हुँदा विमानस्थलमा एक विमान सिवाय अरू केही देखिँदैन।

विमानस्थल डुबानको एक्लो साक्षी श्री एयरलायन्सको त्यो जहाज उडान अनुमति पाएर पहिलो पटक विराटनगर पुगेको थियो।

कुनै समय एसियाकै ठूलो हेलिकप्टर सेवाप्रदायक मानिने श्री एयरलाइन्सले गत वर्ष भदौमा फिक्स्ड विङको पनि अनुमति पाएको थियो।

त्यसपछि विमान ल्याउन दौडधुप गरेको श्रीले गएको चैतमा पहिलो क्यानेडियन कम्पनी बम्बार्डियरले बनाएको सिआरजे–२०० सिरिजको जेट विमान  ल्याएको थियो।

चैतमा पहिलो विमान ल्याएको श्रीले दोस्रो विमान वैशाख १६ गते ल्याएको थियो।

जलमग्न विराटनगर विमानस्थलमा देखिने जहाज त्यही हो जुन वैशाख १६ गते आएको थियो।

नेपाली दर्ता नम्बर ‘नाइन एन एएमए’ पाएको उक्त विमान उड्नको लागि १ सय २ दिनदेखि पर्खिरहेको थियो तर जब उडान अनुमति पायो त्यसको भोलिपल्ट जलमग्न विमानस्थलमा ‘बन्धक’ बन्यो।

साउन २६ गते श्री एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले विमान उडान अनुमति (एओसी) दिएको थियो। २७ गते श्रीको अर्को जेटले भैरहवा, नेपालञ्ज र धनगढीबाट व्यावसायिक उडान पनि सुरु गरेको थियो।

तर एक साता अगाडि क्रु तालिमको लागि भन्दै विराटनगर लगेको श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए। उक्त विमानबाट शनिबार अर्थात् २८ गतेबाट व्यवसायिक रुपमा उडाउने श्रीको योजना थियो।

तर शनिबार बिहानै विमानस्थल नै बन्द भयो अर्थात् डुबानमा परिणत भयो।

विमानका पांग्राभन्दा माथि नै पानीको सतह पुगे पनि त्यसबाट कुनै प्राविधिक क्षति नभएको मानन्धरले बताए।

उड्नको लागि ३ महिनासम्म ब्यग्र प्रतिक्षामा रहेको विमान जुन दिन उड्ने तालिका थियो त्यही दिन जलमग्न विमानस्थलको एक्लो बन्धक बन्यो। उनले यसलाई संयोग ठानेका छन्।

विमानस्थल खुलेलगत्तै  जहाजले उडान सुरु गर्ने मानन्धरले जानकारी दिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.