एक्कासी किन पर्‍यो यति ठूलो पानी?

एक्कासी किन पर्‍यो यति ठूलो पानी?


केहीदिन अघिसम्म देशको पश्चिमी तराईमा नियमित पानी परेपनि पूर्वी क्षेत्रका पहाड र तराईमा ठूलो पानी परेको थिएन।

शुक्रबार रातिदेखि पूर्वी र मध्य क्षेत्रमा एकाएक अविरल वर्षा भयो। ती क्षेत्रका नदीमा पानीको बहाव खतराको रेखाभन्दा माथि गयो। पहाडमा पहिरो आयो तराई बाढी र डुबान भयो। शनिबार यो क्रम पश्चिमतिर पनि फैलियो।

किन एकाएक यत्रो ठूलो पानी पर्‍यो त?

यो प्रश्न हामीले मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेललाई सोधेका थियौं।

पौडेलका अनुसार एक्कासी यति ठूलो पानी पर्नुका पछाडि तीन कारण छन्।

पहिलो, केही दिनयता हाम्रो चुरे क्षेत्रभन्दा माथिको जमीन धेरै तात्यो। जमीन तातेपछि सतहको हावा उडेर गयो। बंगालको खाडीबाट पानीका कण बोकेर आएको हावाले त्यसको ठाउँ लियो।

मनसुनको समयमा यसरी जमिन तात्ने र पानीका कण बोकेको हावा आउने क्रम गंगा नदीको आसपासमा बढी हुन्छ। पूर्व कलकत्तादेखि पश्चिम पाकिस्तानसम्म ठाउँ ठाउँमा तातेको जमिनमाथिको वायूमण्डललाई जोडेर काल्पनिक रेखा बन्छ। मौसम विज्ञानको भाषामा यसैलाई न्यूनचापीय रेखा भनिन्छ।  यसपालि त्यही रेखा चुरेभन्दा माथिको वायुमण्डलमा बन्यो।

यसरी तातेको ठाउँमा पानी परेपछि तापक्रम घट्छ। त्यतिन्जेल अर्को ठाउँमा सतहको हावा तात्ने प्रक्रिया सुरु भइसक्छ। यही प्रक्रियाले गर्दा नेपाल र भारतमा फरक फरक समयमा वर्षा हुने गर्छ।

कहिलेकाहीँ सतहको हावा तातेर अन्तै गएपनि त्यसको ठाउँ लिन आउने हावामा पर्याप्त पानीका कण नहुँदा वर्षा हुन सक्दैन।

यसपालि केही दिनअघि पूर्वी क्षेत्रमा आउने मनसुनी वायूमा यही समस्या देखिएको थियो। तर पश्चिमी तराईमा भने भारतमा बनेको न्यूनचापीय रेखाको नजिक परेकाले पानी परिरहेको थियो।

‘यसरी जमिन तात्ने क्रम प्रायः नेपालको तराईमा मात्र हुन्थ्यो। यसपालि चुरेभन्दा माथि आयो,’ पौडेलले भने, ‘एकदुई ठाउँमा मात्र भएन पूर्वदेखि पश्चिमसम्मै फैलियो।’

धेरै पानी पर्नुको दोस्रो कारण भारतको मध्यप्रदेशसम्म मात्र आउने अरब सागरको मनसुनी वायू पनि यहाँसम्म आइपुग्नु हो। अरब सागरको मनसुनी वायू प्रायः नेपालसम्म आइपुग्दैन।

‘चुरेभन्दामाथिको वायुमण्डलमा मनसुनी वायू आउने क्रम दुई दिनसम्म रह्यो, त्यहीबेला मध्यप्रदेशबाट अरब सागरको मनसुनी हावा पनि यहाँ आइपुग्यो’, पौडेलले भने, ‘त्यसैको प्रभावले यति ठूलो पानी परेको हो।’

तेस्रो कारण, काठमाडौं आसपासमा बनेको स्थानीय प्रणाली हो।

कुनै ठाउँको जमीन तातेर तत्कालै अन्तबाट हावा आई त्यहाँ पानी पर्ने प्रणाली बन्ने गर्छ। यसको प्रभाव सानो हुन्छ। साँझपख हावाहुरी चलेर पानी परेपछि यो प्रणाली हराउँछ। यस्तो प्रायः जेठ/वैशाखमा हुने गर्छ।

यसपालि काठमाडौं आसपासमा यस्तै एउटा प्रणाली बन्यो। जुन सामान्य पानी परेर सकिएन। बरु थपिँदै गयो। सतहबाट ५ हजार ५ सय मिटर माथिसम्म पुग्यो।

‘यसैका कारण शुक्रबार साँझबाट सिमरादेखि पोखरासम्म ठूलो पानी पर्‍यो,’ पौडेलले भने।

उनका अनुसार आइतबारबाट भने यो प्रणाली कमजोर भइसकेको छ। चितवनदेखि पश्चिमका क्षेत्रमा चुरेभन्दा माथिको जमिन तातेर बनेको न्यूनचापीय रेखाको प्रभाव  भोलिसम्म रहनेछ।

‘अब मध्य र पूर्वी क्षेत्रमा सामान्य वर्षा हुन्छ, पश्चिममा सोमबारसम्म भारी वर्षाको सम्भावना छ,’ पौडेलले भने, ‘मंगलबारपछि मौसममा सुधार आउने देखिन्छ, त्यतिञ्जेल ती क्षेत्रमा सावधानी अपनाउन जरुरी छ।’

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.