मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


विपी राजमार्गअन्तर्गत गएराति सिन्धुलीको खुर्कोट–नेपालथोक सडकखण्ड अन्तर्गत रिठ्ठेभिर नजिक मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

ज्यान जानेमा धनुषाका २६ वर्षीय प्रदीप दुलाल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए । काठमाडौंबाट धनुषातर्फ आउँदै गरेको दुलाल चढेको बा ४८ प ५६४६ नंको मोटरसाइकल शनिबार साँझ ६ः३० बजे तीव्रगतिका कारण दुर्घटनामा परेको थियो ।

सडकको छेउमा रहेको पिल्लरमा ठोक्किएर दुलाल सडकबाट ३५ मिटर तल खसेका थिए । मोटरसाइकल सडकमा नै रहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल ठोक्किँदा चालक दुलाल उछिट्टिएर तल खसेको प्रहरीको अनुमान छ ।

सडकबाट ३५ मिटर तल खसेका दुलाललाई प्रहरीले उद्धार गरी थप उपचारका लागि धुलिखेल लगेको थियो । उनको धुलिखेलमा उपचारका क्रममा गएराति ९ बजे मृत्यु भएको जिप्रका सिन्धुलीले जनाएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.