सौराहामा बाढी पस्यो, होटलहरु डुबानमा


चितवनको पूर्वी भेगका अधिकाशं खोलामा बाढी आएको छ। पर्यटकीय नगरी सौराहामा राप्ती नदीको बाढी पसेको छ।

गएराति ११ बजेदेखि बाढी पस्न सुरु गरेपछि अधिकांश होटल, रेष्टुरेन्टहरु डुबाएको छ। बाढीको कारण सौराहाका केही होटल बाहेक अधिकांश होटल डुवाएको क्षेत्रिय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरले जानकारी दिए।

डुवानमा परेका होटलहरुले पर्यटकहरुलाई माथिल्ला कोठाहरुमा सिफ्ट गरेको उनले बताए। पूर्व सतर्कताका कारण मानवीय क्षति भने नभएको उनले जानकारी दिए।

त्यसैगरी राप्ती ड्याक पनि खतरामा रहेको स्थानीयले बताएका छन् । २०५९ सालपछिको हालसम्मकै ठूलो वाढी आएकोले लोथरदेखि तल्लो तटमा रहेका वासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दीपक थापाले बताए । सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।

यसैगरी, राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रमा डुबान भएको प्रहरी उपरीक्षक थापाले बताए । राप्तीकै पानी पसेपछि पश्चिम चितवनको पटिहानी, जगातपुर र मेघौलीका नदी तटीय क्षेत्र डुबानमा परेका छन् । नदी छेउमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थापाले बताए ।

नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.