हज यात्री मक्का प्रस्थान, गृहमन्त्रीले गरे बिदाई


साउदी अरबको मक्कामा हजका लागि जाने नेपाली मुसलमानहरूको अाज  बिदाई गरिएको छ ।

गृहमन्त्री जनार्दन शर्माले हजका लागि जाने नेपाली मुसलमानहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी फुल माला लगाई बिदा गरेका हुन् । चरण —चरण गरी मक्कामा हज (विशेष प्रकारको नमाज र प्रार्थना) गर्न नेपाली मुसलमान दाजुभाई दिदीबहिनी साउदी अरब पुग्ने गर्दछन । देशैभरि छरिएर रहेका मुसलमान नेपालीहरूलाई जिल्लास्तरीय हज कमिटीले मक्का जानेहरूलाई सिफारिस गराएर पठाएपछि केन्द्रीय हज कमिटीले कोटा अनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था छ ।

विमानस्थलमा गृहमन्त्रीसहित श्रम मन्त्री फरमुल्लाह मन्सुर, कांग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेलले पनि उनीहरूलाई बिदाई गरे । आज साउदीतर्फ प्रस्थान गरेको पहिलो नेपाली टोली हो । हरेक वर्ष झैँ यो वर्ष पनि करीब एक हजार नेपाली मुसलमान मक्का पुग्नेछन् ।

मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरिका मुसलमान आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् । साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा विशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि विश्वभरिबाट मुसलमानहरू मक्का पुग्ने गर्दछन ।

आज प्रस्थान गर्ने १ सय ३० जना नेपाली मुसलमान तनहँु, स्याङ्गजा, पर्वत, गोर्खा अर्घाखाँची काठमाडौंका रहेका छन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.