हामीलेनै संरक्षण गरेको जग्गा कसरी अतिक्रमण भयोः धिमाल

हामीलेनै संरक्षण गरेको जग्गा कसरी अतिक्रमण भयोः धिमाल




मोरङको पथरी शनिश्चरे ९ रिगुवास्थित धिमाल महाराज ग्रामथानको जग्गा आफूहरूले अतिक्रमण नगरी आफ्नै जग्गामा घर बनाएको स्थानीय भुवनकुमार धिमालले स्पष्ट पारेका छन्।

ग्रामथानको जग्गा अतिक्रमण गरी स्थानीय भुवनकुमार धिमालले घर बनाएको भनि आएको समाचारको विषयमा मंगलबार पत्रकार सम्मेलन गरी महारज ग्रामथानले चर्चेको अन्दाजी ७ कठ्ठा जग्गा र सो जग्गासँगै जोडिएको जग्गालाई एउटै बनाएर जग्गा अतिक्रमण गरेको कुरा हास्यास्पद भएको बताएका छन्।

धिमाल महाराज ग्रामथान रिगुवा टोल समिति अध्यक्ष तथा नवनिर्वाचित वडा सदस्यसमेत रहेका खरिन्द्र धिमाल, स्थानीय आदर्श सीता प्राथमिक विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त भट्टराई, दिनेश धिमाल, वेदबहादुर धिमाललेले संयुक्त पत्रकार सम्मेलन गरी स्पष्टोक्ति दिएका हुन्।

‘कतिसम्म भने सो ग्रामथाननै हामीमध्ये भुवन धिमालको मावली हजुरबुबा हर्कबहादुर धिमाल र उहाँको बुबा छबिलाल धिमालले विस१९९४ मा स्थापना गरेको सर्जिमिन पत्रहरू हामीसँग सुरक्षित छन्। यति मात्र होइन ग्रामथान स्थापना र संरक्षणनै पिता पुर्खादेखि हामीले गर्दै आएको घाम जतिकै छर्लङ्ग हुँदा पनि संरक्षणकर्तालाई नै अतिक्रमण गरेको  आरोप लाग्नु हास्यास्पदबाहेक अरू के हुन सक्छर?’ जारी गरेको विज्ञप्तिमा छ।

धिमाल महाराज ग्रामथान रिगुवा टोल समितिका सचिव सन्तोष धिमालले तत्कालीन बयरवन पञ्चायत ९ ठ को कित्ता नम्बर १३८ को ऐलानी जग्गा १२ कठ्ठा ८ धुरमध्ये ५ कठ्ठा अतिक्रमण गरेर केहीले घर बनाइरहेको आरोप लागेको थियो।

महाराजको जग्गानै आफूहरूले संरक्षण गरेको भन्दै धर्म, संस्कृतिको जगेर्नाका लागि आफूहरू सधै लागिपर्ने धिमालले सेतोपाटीलाई बताए।

उक्त जग्गामा जेठ ११ गते बर्सेनि धिमाल जातिको ‘धङधङ’ मेला लाग्ने गर्छ । मेलाको दिन सबै धिमाल जातिले महाराजको सामूहिक पूजासमेत गर्ने परम्परा छ ।

उक्त जग्गाको बीचबाट आउजाउको लागि भन्दै सडक निर्माण गरेको धिमालले बताए। सडक बनाएदेखि त्यसभन्दा पश्चिमको ५ कठ्ठा जग्गा अतिक्रमण गरेर बसोबास थालेको आरोप लगाए पनि उक्त जग्गा आफूहरूकै भएको उनको दाबी छ।

उक्त जग्गामा आफूहरूले अतिक्रमण गरी घर बनाएको नभएर आफ्ना पुर्खाले जंगल फाँडेर बसोबास सुरु गरेको समयमा नै आँगनमा महाराजको थान स्थापना गरेर पूजापाठ गर्दै आएको दाबी गरे। ‘बुवा दिनेशले १० कठ्ठा जग्गामा बसोबास गर्दै आउनुभएको थियो, १० धुरमा मात्रै महाराजको थान थियो,’ उनले भने, ‘गाउँ समाजले ०३४ सालतिर महाराजको थानलाई फराकिलो बनाउने क्रममा बुवालाई २ कठ्ठा, चन्द्रकान्तलाई १ कठ्ठा, नागेन्द्र र वेदबहादुरलाई बसोबासका लागि छुट्याइदिएको हो।’ सोही १०/१० धुर जग्गामा उति बेलैदेखि बसोबास गर्दै आएको र बुवाले दिएको जग्गामा भएको पुरानो घर भत्काएर आफूले पक्की बनाइएको उनले बताए। आफूले मात्रै ऐलानी जग्गामा बसेको नभई १५ सयदेखि २ हजार परिवार ऐलानीमा बस्दै आएको उनको भनाइ छ ।

घरको जग हालेर १० लाख खर्चिसकेको अवस्थामा केही व्यक्तिले डाहा र विभिन्न आस्थाका आधारमा अवरोध गर्न खोजेको उनको दाबी छ।

२०६५ सालमा जिल्ला प्रशासनको पत्रअनुसार शनिश्चरे गाविसले स्थलगत सरजमिन मुचुल्का गरेर ७ कठ्ठामा महाराजको थान र बाँकीमा ३४ सालदेखिको बसोबास रहेको प्रतिवेदन पठाएको उनले दाबी गरे।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.