सरकारकै संरक्षणमा नेपाली महिलाहरु खाडी मुलुकमा बेचिएका खुलासा

सरकारकै संरक्षणमा नेपाली महिलाहरु खाडी मुलुकमा बेचिएका खुलासा


सरकारकै संरक्षणमा नेपाली महिलाहरुको खाडी मुलुकमा बेचबिखन भइरहेको खुलासा भएको छ ।

व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति अन्तरगतको उपसमितिले खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षण गरी तयार पारिएको प्रतिवेदनमा बेचबिखनमा परेका महिला कामदारहरु दूतावासको शरणमा आउने गरेपनि सरकारकै संरक्षणमा दोषीमाथि कार्बाही भने नभएको पाइएको हो ।

मंगलबार समितिको बैठकमा प्रतिवेदन पेश गर्दै उपसमितिका सदस्य विनोद श्रेष्ठले मानव तस्करमा संलग्न व्यक्तिहरुलाई कार्बाही गर्न भूमिका खेल्नुको सट्टा परराष्ट्र मन्त्रालयले आफूसँग प्राप्त सूचना समेत लुकाई मानव तस्करीलाई सघाएको देखिन आएको स्पष्ट पारे। उनले  खाडी मुलुकमा बेचबिखनमा परेका महिलाहरु दिनहुँ दूतावासको शरणमा आउने तर तिनीहरुलाई बेच्ने एक जना दलालमाथि पनि कार्बाही नहुने विडम्बनापूर्ण स्थिति उत्पन्न भएको पनि जानकारी दिए ।

उपसमितिले कतिपय महिलाहरु नेपालकै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै सरकारी सेटिङमै खाडी मुलुक पठाउने गरेको पाइएको पनि स्पष्ट पारेको छ । ठूलो संख्यामा नेपाली महिलाहरु भारत लगायतका मुलुकबाट खाडी मुलुकहरु साउदी अरब, कतार, कुवेत, ओमान र संयुक्त अरब इमिरेटस पुर्याई बेचबिखन हुँदै आएको छ ।

उपसमितिले दोहोरो श्रम सम्झौताका कारण पनि नेपाली कामदार माथि शोषण हुने गरेको पनि खुलाएको छ । त्यसैगरी घरेलु महिला कामदारहरुको अवस्था दर्दनाक रहेको पनि प्रतिवेदनमा उल्लेख छ । उपसमितिका सदस्य श्रेष्ठले धेरैजसो महिला कामदारमाथि चरण शारिरीक यातना दिएको पाइएको पनि बताईन् । उनले शारिरीक, मानसिक र यौनजन्य हिंसाबाट नेपाली महिला कामदारहरु पीडित रहेको पनि बताईन्।

उपसमितिले अधिकांश घरेलु कामदारहरुलाई आफू कुन ठाउँमा छु भन्ने समेत जानकारी नहुँदा उनीहरुको उद्धार कार्यमा समस्या हुने गरेको पनि प्रतिवेदनमा औंल्याइएको छ । साउदी अरबमा काम गरेका महिला कामदारहरुलाई वर्षौ तलब नदिई घर मालिकले नेपाल पठाउने गरेको पनि पाइएको छ ।

खाडी मुलुकमा रहेका नेपाली कामदारहरुलाई खानपीन र बसोबासको समेत उचित प्रबन्ध नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । खाडी मुलुकमा गएका कामदारहरु मध्ये ६० प्रतिशत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै तस्करी हुने गरेको पाइएको छ ।

तर नेपाल सरकारसँग हालसम्म पनि कति नेपाली कामदार खाडी मुलुकमा रहेका छन भन्ने एकीन तथ्यांक नै छैन । समितिले खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको उचित व्यवस्था गर्न सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ । पछिल्लो समय मानव तस्करी समेत बढ्दै गएपछि समितिले उपसमितिनै बनाएर खाडी मुलुकको स्थलगत अवलोकन गरी प्रतिवदेन तयार पारेको हो । प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्देशन सरकारलाई दिने समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.