उपत्यकामा यसरी मनाइँदैछ गाईजात्रा 


आज गाईजात्रा पर्व विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैँ छ ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमी (८ दिन)सम्म यो पर्व मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौं उपत्यकालगायतका देशका मुख्य–मुख्य नेवारी बस्तीमा एक वर्ष भित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्ना टोलमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्धारा दूध, फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।

यसो गर्नाले वर्ष भरी मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन भन्ने धार्मिक विश्वास रहि आएको छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफनी रानीलाई दुनियाँले पनि यस्तो शोक व्यहोर्नुपर्छ भन्ने देखाउन जनतालाई पनि आ–आफना मरेका व्यक्तिको नाममा गाई जात्रा निकाली सहर परिक्रमा गराउनू भनि आदेश दिएकोमा यतिले पनि रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंगात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुसार जात्राको प्रचलन चलेको बताइन्छ ।

देशका विभिन्न शहरमा गाईजात्रा मनाइएपनि काठमाडौं उपत्यकामा यसको विशेष रौनकता पाइन्छ । यस पर्वमा प्रहसन, सामाजिक विसंगति विरुद्ध व्यंग्यात्मक प्रर्दशन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने गरिन्छ । जात्रामा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्न सार्वजनिक रुपमा विभिन्न कार्यक्रममा आयोजना हुँदै आएको छ ।

जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचालमको नमूना तथा काठमाडौंको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छ । गाईजात्रा पर्व काठमाडौं उपत्यका लगायतका बनेपा, धुलिखेल, पनौति, बाह्विशे, चरिकोट, त्रिशुली बजार, दिक्तेल, भोजपुर, इलाम, विराटनगर, विरगंज, हेटौंडा र पोखरा लगायत स्थानमा मनाइन्छ । यसै अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिने गरेको छ ।

हेरौं भिडियोमा

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.