रामकिशन यादव उर्फ बाबा रामदेवले जुन दिनदेखि संस्कार टिभीमा आएर आफ्नो पेटको मांसपेसी जाँतोझैं घुमाउन थाले, उनलाई पछ्याउनेहरूको संख्या भारतमा मात्र होइन, नेपालमा पनि ह्वात्तै बढ्यो।
सन् २००२ मा योगगुरूका रूपमा उदाएका उनै रामदेव आज भारतमा आयुर्वेदका सबभन्दा ठूला कारोबारी बनेका छन्। भारतीय टेलिभिजन च्यानलहरूको दर्शकसंख्या मापन गर्ने परिषदका अनुसार रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडको विज्ञापन प्रसारण पछिल्लो एक वर्षमा दोब्बर भएको छ। सन् २०१६ जनवरी पहिलो साता ११ हजार ८ सय ९७ पटक विज्ञापन प्रसारण गरेको पतञ्जलीले यस वर्ष मार्च अन्तिम साता २४ हजार ५० पटक विज्ञापन देखायो।
यही अवधिमा रामदेव स्वयं २ लाख ३४ हजार ९ सय ३४ पटक देशका विभिन्न टेलिभिजन च्यानलहरूमा देखिए– कहीँ योग सिकाउँदै त कहीँ प्रवचन दिँदै। यसको अर्थ, प्रत्येक ३० सेकेन्डमा रामदेव कुनै न कुनै च्यानलमा देखिइरहेका छन्। आजको मितिमा पतञ्जली आयुर्वेद भारतको उत्कृष्ट १० विज्ञापनदाताको सूचीमा पर्छ। र, रामदेव देशकै सबभन्दा सर्वव्यापी व्यक्तिमा पर्छन्।
यिनै व्यक्तिमाथि लामो र गहिरो अनुसन्धान गरेर किताब लेखेकी छन्, प्रियंका पाठक–नारैनले।
भारतको हरियाणास्थित गरिब गाउँ अलिपुरमा जन्मेका यी दुब्लो कायाका ठिटो रामदेवको लोकप्रियता र उनको कम्पनीको कारोबार आज जति झाँगिदैछ, उनको व्यक्तिगत जीवन र पृष्ठभूमिप्रति अभिरुचि उति गहिरिँदैछ। उनको वर्तमान जति सर्वव्यापक छ, विगत उति गोप्य।
उनी चीनमा बनेको आइफोन प्रयोग गर्छन्। र, त्यही आइफोनबाट भारतमा चिनियाँ वस्तु बहिष्कार गर्न ट्विट गर्छन्। सबैलाई साहसको पाठ पढाउँदै प्रवचन दिन्छन्, आफू भने प्रहरी छापाबाट बच्न महिला आवरणमा कार्यक्रम स्थलबाटै कुलेलाम ठोक्छन्। विश्वास र आत्मसम्मानको कुरा गर्छन्, जबकि उनकै कम्पनीका अधिकांश विज्ञापन भ्रामक छन्।
यी सबै विरोधाभाषबीच रामदेवको शक्ति चुलिँदैछ। उनलाई पछ्याउनेहरू बढ्दैछन्। उनी राजनीतिक नेताहरूसँग भेटघाट गर्छन्, कुराकानी गर्छन् र ती सबै उनका कुरा सुन्छन्। उनी भारतीय सेनाका लागि योग शिविरहरू सञ्चालन गर्छन्। उनको पतञ्जली आयुर्वेद लिमिटेड उपभोग्य वस्तु बजारको एक ठूलो खेलाडी बनेको छ, जसले भारत छिरेका एक–से–एक बहुराष्ट्रिय कम्पनीलाई कडा चुनौती दिँदैछ।
पाठक–नारैनको किताब ‘गडम्यान टु टाइकुन’ ले रामदेवका यस्तै रोचक र गोप्य पाटाहरू खोतलेको छ। यो किताब आफैंमा पूर्ण छैन। जन्ममितिधरि यकिन नभएका मान्छेको जीवनकथाबारे लेखिएको किताबमा केही छिद्र छुट्नु अस्वाभाविक पनि होइन। रामदेवको जन्म सँगसँगै उनको शिक्षा र प्रारम्भिक करिअर पनि रहस्यले ढाकिएका छन्। यति हुँदाहुँदै यो किताबको लेखन तीव्र गतिको ‘थ्रिलर’ जस्तै छ, जसमा हत्याको प्रसंग छ, भ्रष्टाचार छ, कर्पोरेट प्रतिस्पर्धा र कम्पनी अधिकरणका रोचक घटनाक्रम छन् र सबभन्दा बढी छ, रहस्य।
समग्रमा यो किताब रामदेवको जीवनकथा मात्र होइन, बजारीकरणको यो युगमा कर्पोरेट जगतले कसरी काम गर्छ भनी झल्काउने दस्तावेज पनि हो। यसअघि भारतीय व्यावसायिक घराना टाटामाथि प्रशस्तै किताब लेखिए। ‘दी पोलिस्टर प्रिन्स’ र ‘ग्यास वार्स’ जस्ता किताबले हामीलाई रिलायन्स समूहले गरेका कामको सूचना दिन्छन्। ‘गडम्यान टु टाइकुन’ त्यस्तै शृंखलाको निरन्तरता हो, जसले अज्ञातबाट उठेर योगको बाटो हुँदै भारतको कर्पोरेट जगतमा तहल्का पिटेका रामदेवको कथा भन्छ। जो भारतका एक मात्र यस्ता व्यक्ति हुन्, जसमाथि सम्मान र विश्मयका आँखा एकसाथ केन्द्रित छन्।
रामदेवप्रतिको यो रुचि नेपालमा पनि कम छैन। उनलाई पछ्याउनेहरू बढेका बढ्यै छन्। उनको पतञ्जलीका उत्पादन बेच्ने शाखा बग्रेल्ती खुलेका छन्। हाम्रो दैनिक जीवनमै छिरिसकेका यस्ता व्यक्ति को हुन्? उनी जे छन् त्यो कसरी बने? पाठक–नारैनको किताबले यस्तै प्रश्नको जवाफ खोजेको छ।
भारतीय अनलाइन ‘द वायर’ ले लेखिका पाठक–नारैनसँग रामदेवको जीवनमाथि गरिएको अनुसन्धानबारे अन्तर्वार्ता लिएको थियो। केही दिनअघि उक्त अनलाइनमा प्रकाशित अन्तर्वार्ताको अनुवादः
सबभन्दा पहिला किताबका लागि बधाइ। यो किताबमा तपाईंले धेरै नै मिहिनेत र अनुसन्धान गर्नुभएको देखिन्छ। तपाईंलाई यस्तो किताब लेख्ने विचार कहाँबाट आयो? त्यो विचारलाई कसरी अघि बढाउनुभयो? र, रामदेवको विगतबारे अनुसन्धान गर्न तपाईंलाई गाह्रो–सजिलो के भयो?धन्यवाद। यो किताब लेख्दा मैले धेरै सिक्ने मौका पाएँ।
म पेसागत रूपले पत्रकार हुँ। ‘मिन्ट’ अखबारमा काम गर्छु। पछिल्लो समय धर्मका नाममा हुने व्यापारले मलाई खुब तान्यो। मैले यही विषयमा केन्द्रित रहेर धेरै समाचार लेखेँ। रिपोर्टिङकै क्रममा मलाई भारतका केही चर्चित धार्मिक व्यक्तिहरूबारे किताब लेख्न मन लाग्यो, जो धर्मका नाममा उद्योग चलाइरहेका छन्। यस्तो आइडिया आएपछि मैले प्रकाशकसँग कुराकानी गरेँ। यो सन् २०१६ अप्रिलतिरको कुरा हो। प्रकाशकसँगको निरन्तर छलफलले मेरो विचार माझिँदै गयो। र, अन्ततः हामी बाबा रामदेव र उनको पतञ्जलीमाथि केन्द्रित रहेर किताब लेख्ने निर्णयमा पुग्यौं।
पतञ्जलीले त्यतिबेलै बजार पिट्न थालेको थियो। मैले पत्रकारका रूपमा रामदेवलाई पहिल्यैदेखि पछ्याइरहेकी थिएँ। सन् २००७ देखि २००९ सम्म उनीबारे प्रशस्त लेखेँ। मलाई रामदेवको जीवनका थुप्रै उतारचढाव र केही यस्ता घटना थाहा थियो, जसले उनको जीवनमा परिवर्तन ल्यायो। उनीसँग कुनै पनि काम कसरी नयाँ ढंगले गर्ने र समयअनुसार आफूमा कसरी परिवर्तन ल्याउने भन्ने अभूतपूर्व खुबी थियो। उनी आफ्ना सहकर्मी र साझेदारहरूसँग यस्तरी ‘नेगोसिएसन’ गर्न सक्थे, जसले उनको हात सधैं माथि पथ्र्यो। मैले व्यक्तिगत रूपमा उनका यी गुण र खुबीलाई नजिकबाट नियालेकी थिएँ।
यति हुँदाहुँदै मलाई के लाग्थ्यो भने, रामदेवबारे मलाई आधा सत्य मात्र थाहा छ। उनको जीवन रोचक छ, तर छर्लंग छैन। केही घटना र प्रसंग खुल्दैनन्। मैले जति उनलाई भेटेँ, उति उनीबारे बुझ्न गाह्रो भयो। उनको जीवनको यथार्थ के हो र उनलाई यस्तरी एकाग्र भएर लाग्न केले प्रेरित गर्छ भन्ने प्रश्नको जवाफ मैले पाउन सकिनँ। मलाई लाग्यो, यी प्रश्नको जवाफ रामदेवको जीवनसँग पहिले वा अहिले जोडिएका व्यक्तिको स्मृतिमा पक्कै लुकेको छ। जीवनको विभिन्न कालखण्डमा उनले भेटेका व्यक्तिसँग सम्पर्क राख्न सकियो भने ती अलग–अलग कडी जोडेर रामदेवको रहस्यमय जीवनलाई पूर्ण आकार दिन सकिन्छ। यसबाहेक रामदेव को हुन्, उनको अतीत के हो र उनी कसरी बाबाका रूपमा उदाए भन्ने थाहा पाउन असम्भव हुन्छ।
रामदेवको जीवनसँग जोडिएका केही व्यक्ति सजिलै फेला परे। कतिपय व्यक्तिबारे थाहा पाउन र सम्पर्क गरेर भेट्न महिनौं लाग्यो। अनुसन्धान क्रममा भेटेका लगभग सबैले मसँग सोधे, ‘तपाईं उहाँको पक्षमा लेख्दै हुनुहुन्छ कि विपक्षमा?’
‘मसँग कुनै ‘एंगल’ छैन। म खाली उहाँबारे सुन्न चाहन्छु, तपाईं जति सम्झनुहुन्छ त्यति,’ म सबैलाई यही जवाफ दिन्थेँ, जुन उनीहरू विरलै पत्याउँथे।
मेरो जवाफमा विश्वास गरेर वा नगरेरै पनि तीमध्ये धेरैले मसँग रामदेवबारे कुराकानी गरे। उनीसँग जोडिएका संस्मरण बाँडे। र, कुनै अर्को व्यक्तिसँग सम्पर्क गराइदिए, जो रामदेवबारे थप कुराकानी गर्न इच्छुक थिए। यस्तो लाग्थ्यो, उनीहरू चाहन्थे, कोही आइदिऊन् र ढोका ढक्ढक्काएर रामदेवबारे प्रश्न गरिदिऊन्। बाबा रामदेवसँग बिताएका क्षणहरूको सम्झना बाँड्न र उनको बढ्दो कर्पोरेट साम्राज्यबारे कुराकानी गर्न उनीहरू व्यग्र थिए। म मात्र होइन, जो गएर सोधेका भए पनि उनीहरू सहजै कुराकानी गरिदिन्थे। संयोगले त्यो व्यक्ति म भएँ।
रामदेव र बालकृष्ण दुवै त्यति पढेलेखेका छैनन्। शैक्षिक प्रमाणपत्र नक्कली बनाएको भन्दै सिबिआईले दुवैविरुद्ध मुद्दा दायर गरेको छ। यी दुवै जना करमवीर भन्ने साधुबाट निर्देशित थिए र उनीहरूलाई सम्पर्क गराउने र सम्बन्ध बलियो बनाइदिने पनि कमरवीर नै हुन् भनिन्छ। यसबारे केही भन्नुस् न?[caption id="" align="alignnone" width="1160"]
लेखिका प्रियंका पाठक-नारैन[/caption]
करमवीर कडा स्वभावका साधु हुन्। उनका नीला आँखा छन्। अनुहार सधैं शान्त र गम्भीर देखिन्छ। उनी एकदमै शिक्षित र विद्वान छन्। उनी यस्ता साधु हुन्, जसले हरिद्वारस्थित भारतकै एक उत्कृष्ट विश्वविद्यालय गुरुकुल काग्री महाविश्वविद्यालयबाट तीन विषयमा डिग्री लिएका छन्। उनी महाराष्ट्र र उत्तराखण्डमा साना आश्रम चलाउँछन्। र, आफ्नो समय यी दुवै ठाउँमा बराबर बाँडेका छन्। उनी निःशुल्क योग शिविरहरू चलाउँछन्। उनी कतिसम्म गम्भीर छन् भने, सधैं सोचविचार गरेर मात्र बोल्छन्। कुनै पनि शब्द बोल्नुअघि त्यसको अर्थ र त्यसको प्रभाव सतर्कतापूर्वक तौलनु उनको खुबी हो।
विगतमा जे जस्तो भए पनि करमवीर साधु अहिले पनि बाबा रामदेव र आचार्य बालकृष्णलाई माया गर्छन्। भन्छन्, ‘तिनीहरूको जिन्दगीमा कुनै समस्या आयो भने म आफूले सक्दो मद्दत गर्न तयार हुनेछु।’
करमवीर गुरूले अस्वीकार गरेपछि रामदेव शंकरदेवको पछि लागे। उनकै अनुयायी भएर कृपालुबाग आश्रममा उनले आफूलाई स्थापित गरेका हुन्। शंकरदेव गुरू र उनको असामयिक निधनबारे तपाईंलाई के लाग्छ?शंकरदेव वृद्ध र शान्त गुरू हुन्, जसको आकांक्षा सीमित थियो। उनले आफ्नै आश्रममा फलफूल बगैंचा लगाएका थिए, जुन उनले आफ्नो गुरूबाट विरासतका रूपमा पाएका हुन्। उनले आफ्नो आश्रम भाडामा पनि दिएका थिए। तर, भाडामा बस्नेहरूले आश्रमलाई आफ्नै सम्पत्तिझैं व्यवहार गर्न थाले। त्यसपछि तिनै भाडावालहरूबाट छुट्कारा पाउन उनले आफ्ना अनुयायीलाई आश्रममा राख्न थालेका हुन् भन्ने मलाई लाग्छ। ती अनुयायीले आश्रम रेखदेख गर्नुका साथै वृद्धावस्थामा आफ्नो हेरविचार गर्छन् र गुरूदेखि चलिआएको परम्परालाई भविष्यमा पनि निरन्तरता दिन्छन् भन्ने उनको आस थियो।
यही क्रममा करमवीर र उनका साथीहरूसँग शंरकदेवको भेट भयो। उनीहरूले मिलेर नयाँ ट्रस्ट खोले, जसको आधिकारिक ठेगाना कृपालुबाग आश्रम बन्यो। उनले अनुयायीहरूको जिम्मा लगाएको त्यो आश्रम बाह्र वर्षपछि चर्चित भयो। देशभरिबाट त्यहाँ मान्छे धाउन थाले।
यस्तो लोकप्रियतामा पनि शंकरदेव खुसी थिएनन्। उनका अनुयायी बिघौं–बिघा जमिनका मालिक र महँगा कारका धनी भएर ऐशआरामको जिन्दगी बिताइरहँदा उनी भने हरिद्वारमा एक्लै चिन्तित डुलिरहन्थे भनी स्थानीय सम्झन्छन्। यही चिन्ता र एक्लोपनबीच शंकरदेवलाई मेरुदण्डको क्षयरोग भयो। उनको रोग झन् झन् बल्झिँदै गयो। यसले उनलाई अथाह पीडा दिन्थ्यो। उनको चिन्ताको कारण यही निरन्तर पीडा पनि हुनसक्छ। मैले उनको उपचारमा संलग्न एक स्थानीय डाक्टरसँग कुरा गरेँ। उनलाई भेटेर के थाहा पाएँ भने, शंकरदेवलाई रोगको उपचार क्रममा कुनै ठूलो अस्पताल भर्ना गरिएको प्रमाण छैन। तर, सहरभरि कुनै डाक्टरकहाँ उपचार गरिएन भनी ठोकुवा गर्ने प्रमाण पनि फेला पर्दैन।
शंकरदेव गुरूको एक्लोपन र उनको पीडा कुनै अर्कै कारणले आएको पनि हुनसक्छ। कारण जे भए पनि त्यो एक्लोपन र पीडाले उनलाई भित्रभित्रै यस्तरी खोक्रो र चिन्तित बनायो, उनी आफ्नो जिन्दगी आफैं अन्त्य गर्न तयार भए। सन् २००५ को एक बिहान उनले सदाका लागि यो धर्ती छाडे र पछाडि छाडेर गए एउटा नोट, जसले उत्तरभन्दा बढी प्रश्न उठाएर गयो। तर, न उनी फर्के, न उनले छाडेर गएका प्रश्नका उत्तर नै आए। हुनसक्छ, त्यो अथाह पीडा र थामिनसक्नु एक्लोपनले नै गुरु शंकरदेवको ज्यान लियो।
हामीलाई अहिलेसम्म जे जति थाहा छ, त्यही आधारमा यो मृत्युको गुत्थी सुल्झाउन सकिँदैन। यसका लागि केही नयाँ घटना वा कोही नयाँ व्यक्ति अगाडि आउनुपर्छ, जसले यो गुत्थीमा रहेको पर्दा हटाउन सकोस्। त्यतिञ्जेल यो रहस्यमय घटना र बाबा रामदेवको कुनै न कुनै सम्बन्ध छ भनेरै हामीले चित्त बुझाउनुपर्छ।
‘संस्कार’ र ‘आस्था’ जस्ता धार्मिक च्यानलहरूले रामदेवलाई स्थापित गरे। सुरुका दिनमा रामदेव संस्कारमा कार्यक्रम प्रसारण गरेको पैसा तिर्थे। आज उनी आस्था च्यानलका मालिक हुन्। उनले कसरी यो च्यानलको स्वामित्व लिए?आस्थाका मालिक किरित मेहता थिए। यसको स्वामित्व कसरी रामदेवको हातमा गयो भन्ने कथा एकदमै जटिल छ। केही शब्दमा यसलाई वर्णन गर्न गाह्रो हुन्छ। किरितकै शब्दमा यो कथा सुन्ने हो भने कृपया किताब पढ्नुहोला।
रामदेवलाई राजनीतिसँग साक्षात्कार गराउने श्रेय राजीव दीक्षित भन्ने स्वदेशी अभियानकर्तालाई जान्छ। एउटा रहस्यमय घटनामा उनको आकस्मिक निधन भएको थियो। त्यो घटनामा पोस्टमार्टम किन भएन?मलाई थाहा छैन। त्यतिबेला पोस्टमार्टम गरिनुपर्छ भन्ने माग थियो। पचास जना व्यक्तिले पोस्टमार्टम माग गर्दै अभियानमा हस्ताक्षर गरेका थिए र बाबा रामदेवलाई बुझाएका थिए। तीमध्ये नौ जनाले त अन्तिम संस्कारको दिन बिहान रामदेवकै कोठामा गएर एक घन्टाभन्दा बढी विवाद गरेका थिए।
राजीव दीक्षितको मृत्यु एउटा यस्तो रहस्य हो, जुन बाबा रामदेवले मात्र सुल्झाउन सक्छन्। त्यस दिन बिहान उनले गरेका गतिविधिबारे वर्णन गर्न सक्ने उनी मात्र हुन्।
रामदेवले उच्च तहमा थुप्रै साथी बनाएका छन्। उनीविरुद्ध पहिलोपटक दर्ता भएको कर छली मुद्दा र त्यसमा उत्तराखण्डका तत्कालीन कांग्रेस मुख्यमन्त्री एनडी तिवारी र गभर्नरको भूमिका के हो, केही बताइदिन सक्नुहुन्छ?यो अनुसन्धानको नेतृत्व बिक्री कर अधिकृत जितेन्द्र रानाले गरेका थिए। उनीहरूले दिव्या फार्मेसीबाट भएको बिक्री कर छलीको अनुसन्धान सुरु गरे। त्यस वर्ष एकै दिनमा २२ लाख भारू कमाइ भएको आश्रमका कामदार सम्झन्छन्। अनुसन्धानमूलक पत्रिका ‘तेहेल्का’ ले लेखेअनुसार अनुसन्धान अधिकृत रानाले दिव्या फार्मेसीको कर छली प्रमाणित गर्न २ हजार किलो बराबर कागजपत्र संकलन गरेका थिए। उक्त फार्मेसीले कम्तीमा ५ करोड भारू कर छली गरेको अनुसन्धानबाट प्रमाणित भएको थियो। यही आधारमा उनले छापा मारे। तर, केही समयमा उनको हात बाँधियो। उनी पछाडि फर्कन बाध्य भए। त्यतिबेलाका गभर्नर बाबा रामदेवका साथी थिए। उनले यो घटनामा छानबिन माग गरे र बारम्बार रानालाई सफाइ पेस गर्न भने। यसले स्थिति यति जटिल हुँदै गयो, रानाले आफ्नो अवधि सकिनुअघि नै स्वैच्छिक अवकाश लिने निर्णय गरे। जहाँसम्म मलाई थाहा छ, यो मुद्दा त्यसपछि अघि नै बढेन।
रामदेवले भिएचपी र कंग्रेससँग मिलेर काम गरे। बिजेपी र समाजवादी पार्टीमा पनि उनका साथी छन्। सुब्रतो रायले वित्तीय परामर्शदाताका रूपमा उनलाई सल्लाह–सुझाव दिन्छन्। रामदेव विभिन्न धारका यी व्यक्तिलाई व्यवस्थापन कसरी गर्छन्?मलाई पनि यो जान्न मन छ। म बाबा रामदेवको मान्छे खुसी पार्ने क्षमताको कायल छु। उनी कहिलेकाहीँ आफ्नै मजाक उडाउन पछि पर्दैनन्। कहिले रमाइलो कुरा गरेर सबैलाई हसाउँछन्। उनी निकै सजिलोसँग सबैलाई आकर्षित गर्न सफल हुन्छन्।
रामदेवबाट प्रभावित एक उच्च राजनीतिक नेताले मसँग भनेका थिए, ‘उनी (रामदेव) एकदमै न्यानो स्वभावका छन् र सधैं सम्पर्कमा रहन्छन्। यसले म सधैं उनको भलाइकै बारेमा सोच्न बाध्य हुन्छु।’
ती नेताको यो भनाइसँग म सहमत छु।
पतञ्जली र रामदेवले आफ्ना औषधिबाट क्यान्सर, एचाइभी र समलैंगिता पनि ‘निको’ हुने दाबी गरेको तपाईंले उल्लेख गर्नुभयो। के यस्ता दाबीका आधारमा उनलाई कहिले कारबाही गरिएको छ?छैन। जहाँसम्म मलाई थाहा छ, छैन।
तपाईं रामदेवको भविष्य कस्तो देख्नुहुन्छ?जहाँबाट म हेरिरहेकी छु, मलाई बाबा रामदेव तरवारको धारमा हिँडिरहेझैं लाग्छ।
उनको ‘कोटरी’मा केही यस्ता तत्व छन्, जससँग उनले दुरी राख्नुपर्छ। भित्रभित्रै दुश्मनी छ, जसलाई उनले व्यवस्थापन गर्नुपर्छ। यो भनेको नितान्त उनको छनोटमा भर पर्ने कुरा हो। खासगरी उनी कस्ता व्यक्तिको सल्लाह सुन्छन्, कसलाई विश्वास गर्छन्, कसलाई आफ्नो साम्राज्य चलाउने अनुमति दिन्छन् र कसलाई नजरअन्दाज गर्छन्– यी प्रश्नको जवाफले नै रामदेवको ‘विरासत’ निर्धारण गर्नेछ।
(द वायरबाट साभार)