सन् २०१७ को पहिलो खण्डग्रास चन्द्रग्रहण आज लाग्दैछ। नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरू हुने ग्रहण १२ बजेर ६ मिनेटमा मध्य र राति एक बजेर ४ मिनेटमा मोक्ष हुनेछ। यो ग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देश तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण युरोपबाट देख्न सकिन्छ।
राति ११ बजेर ७ मिनेटमा सुरू हुने भए पनि आजै दिउँसो २ बजेदेखि कुनै पनि भोजन गर्न नहुने ज्योतिषी पण्डित जीवन पौडेलले सेतोपाटीलाई बताए। तर, बालबालिका, जेष्ठ नागरिक, अशक्त र बिरामीलाई भने भोजन बर्जित हुनेछैन।
‘ग्रहणको समयमा वातावरणमा नकारात्मक उर्जा प्रवाह हुने र त्यसले स्वास्थ्यमा असर पर्न सक्ने भएकाले यस्तो बेला खाने कुरा खान हुँदैन भनिएको हो’ ज्योतिष पौडेलले भने।
ग्रहण लाग्दा के-के गर्नु हुँदैन?आज ग्रहण लागेको बेलामा श्रवण नक्षत्र मकर राशी भएका व्यक्तिहरूलाई अतिकष्ट हुनेछ। अरुहरुलाई भने सामान्य लाभ - हानी हुनेछ। त्यसैले यो बेलामा गंगा स्नान ,जप ,हवन ,पाठ - पारायण ,दान - धर्म गरेमा अरुबेलामा गरेको भन्दा अधिक फल प्राप्त हुनेगर्दछ। यो ग्रहण लागेको बेलामा के - के गर्नु हुँदैन भने ‘निद्रायां जायते ब्याधी मुत्रे दारिद्रमाप्नुयात् ,पुरिषे कृमि योनिश्च मैथुने ग्रामसुकर :/अभ्यञ्जने भवेत्कुष्टि भोजने स्यादधोगति ,बन्धने च भवेत् सर्प बधे च नरकं व्रजेत्।।
अर्थात् यो बेलामा सुतेमा रोग लाग्छ, दिसा-पिसाव गरेमा दरिद्र हुन्छ, त्यसपछि दिसा-पिसावको किरोको योनीमा जन्महुन्छ, मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मन्छ, शृङ्गार वा गाजल लगाएमा कुष्टिरोगी हुन्छ ,भोजन गरेमा अधोगति {पतन} हुन्छ, बन्धनमा बसेमा सर्पको योनि हुन्छ र कसैलाई वा आफू मरेमा नरकमा जानेछ।
विज्ञानले पनि यो ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको किटाणु घुम्ने हुँदा नखानु भनेको छ। त्यसैले ग्रहण लागेको बेलामा शरीरमा ब्याक्टोरिया बस्ने हुँदा ग्रहण सकिएपछि स्नान गर्नुपर्छ।
चन्द्रग्रहण वा सूर्यग्रहणमा पूजापाठ गरी दान गरेमा शुभ फल प्राप्त हुने विश्वास छ। तर, चन्द्रग्रहण लागेको बेला मांगलिक कार्य गर्नु हुँदैन। चन्द्रग्रहणमा गरेको मांगलिक कार्यबाट फल प्राप्त नहुने धार्मिक विश्वास छ। त्यसैले आज परेको जनैपूर्णिमा यही साउन १३ गते नागपञ्चमीकै दिन मनाइसकिएको छ।
ग्रहणको पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने चलन छ । साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ । ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ । किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने खगोल बैज्ञानिकहरु बताउँछन् । यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ।
ग्रहण सकिएलगत्तै ग्रहणको पूजा गर्दै दान दिएमा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास छ ।
यस्तै राशी अनुसार ग्रहणको प्रभाव फरक हुने पनि ज्योतिषहरु बताउँछन्। ज्योतिषहरुका अनुसार मकर राशीको श्रवण नक्षत्रमा चन्द्रग्रहण पर्छ। त्यसैले मकर राशीका व्यक्तिले सोमबारको चन्द्रग्रहण हेर्न नहुने ज्योतिषको भनाई छ।
ज्योतिषका अनुसार मेष, धनु र सिंह राशी भएकालाई ग्रहण अवलोकन गर्नु राम्रो मानिन्छ। मकर, कन्या, वृष, मिथुन, कुम्भ र तुला राशीका लागि ग्रहणको फल राम्रो नभएको ज्योतिषको भनाई छ। ज्योतिषका अनुसार मीन, कर्कट र वृश्चिक राशीकालाई भने यो ग्रहण शुभ छ।
कुन राशीलाई कस्तो फलमेषः सुखम्:
वृषः माननास
मिथुनः कष्टम
कर्कटः स्त्री पीडा
सिंहः सौख्यम
कन्याः चिन्ता
तुलाः व्यथा
वृश्चिकः श्री प्राप्ती
धनुः क्षती
मकरः घात
कुम्भः व्यय
मीनः लाभ