पर्वतारोहण संघको अध्यक्षमा लामा विजयी

पर्वतारोहण संघको अध्यक्षमा लामा विजयी


नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३८३ मतका साथ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जिङ्बाजाङ्बु शेर्पाले ३१६ मत प्राप्त गरेका थिए।

संघको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह ३७० मतका साथ विजयी भए भने द्वितीय उपाध्यक्षमा ३८४ मत प्राप्त गरी माया शेर्पा विजयी भइन्।

त्यस्तै महासचिवमा कुलबहादुर गुरुङ ३८१ मत प्राप्त गरी निर्वाचित भए। सचिवमा ३५० मतका साथ टीकाराम गुरुङ र कोषाध्यक्षमा ३३२ मत प्राप्त गरी सुदर्शन न्यौपाने विजयी  भएको नवनिर्वाचित सदस्य विनय शाक्यले जानकारी दिए।

कार्यसमिति सदस्यहरुमा मिश्रित परिणाम आएको छ । नौ जना सदस्यहरुमा लामा समूहले ५ र शेर्पा समूहले ४ सदस्यमा जित हात पारेका छन् । जस्मा, लामा समुहबाट पासाङ तेण्डी शेर्पा, सिंगी लामा, मिङमार शेर्पा, विनय शाक्य, र सञ्जिव गुरुङले जित हात पारे । शेर्पा, लामा, शेर्पा, शाक्य र गुरुङले क्रमशः ३६४, ३२७, ३५२, ३५७ र ३२१ मत प्राप्त गरेका छन् । उता, शेर्पा समूहबाट सदस्यहरुमा डा. हरि प्रसाद श्रेष्ठ, आङछेवाङ शेर्पा, दा ग्याल्जेन शेर्पा र तुल्सिङ गुरुङ निर्वाचिन भए । उनीहरुले क्रमशः ३५३, ३३२, ३३६ र ३६४ मत प्राप्त गरेका छन् । एनएमएमा १ हजार ३९ मतदाता रहेकोमा ७५६ मत खसेको थियो ।

शनिबार बिहान देखि अपराह्न ४ः२० सम्म मतदान भएको निर्वाचनको मतगणनाको परिणाम राति १ बजे सार्वजनिक भएको थियो । एक हजार ३९ मतदाता रहेकामा ७६० मत खसेको थियो । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ सदस्य निर्वाचित भएका छन् ।

तीन वर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमितिमध्ये संस्थागत र आरोहीतर्फबाट पाँचजना निर्विरोध निर्वाचित भइसकेका छन् भने तीन सदस्य नोमिनेसनबाट चुनिने छन् । त्यस्तै पर्यटन विभागका महानिर्देशक सदस्य र संघका निवर्तमान अध्यक्ष अभिभावक सदस्य चुनिने जनाइएको छ । निर्वाचनमा जिम्बाजाङ्बु शेर्पा र सन्तवीर लामाको समूहले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.