प्लान इन्टरनेशनल नेपालको सहयोगमा १२ विद्यालय निर्माण

प्लान इन्टरनेशनल नेपालको सहयोगमा १२ विद्यालय निर्माण




बालबालिकाको क्षेत्रमा क्रियाशील अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेशनल नेपालको सहयोगमा निर्माण भएको काठमाडौंको गोकर्ण माध्यमिक विद्यालयको नयॉ भवनको आज उद्घाटन गरिएको छ।

भूकम्पपछिको पुनर्निर्माणका क्रममा अस्ट्रेलिया सरकारको वैदेशिक मामिला तथा व्यापार विभागको आर्थिक सहायतामा प्लान इन्टरनेशनल नेपालको सहयोगमा निर्मित विद्यालय भवनको माननीय उपप्रधान एवंम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शनिवार आयोजित कार्यक्रममा उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेत, प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्पेन कोपेन्स, नेपालस्थित अस्ट्रेलियाली राजदूत पिटर बड लगायतको उपस्थिति थियो।

सुरक्षित विद्यालय भवन परियोजना अन्तर्गत गोकर्ण माध्यमिक विद्यालयका लागि भूकम्प प्रतिरोधी ६ कोठासहितको भवन निर्माण गरिएको हो। नवनिर्मित भवनका कक्षाकोठाहरु अपाङ्गतामैत्री बनेका छन्।सुरक्षित वातावरणमा गुणस्तरिय शिक्षा प्रदानमा सहयोग गर्ने हेतुले निर्माण गरिएको विद्यालय भवनबाट चालू शैक्षिक सत्रमा ४ सय ६० विद्यार्थी लाभान्वित भएका छन्। परियोजनाकै सहयोगमा नवनिर्मित भवनमा कम्प्युटर ल्याव निर्माण गरिएको छ। त्यस्तै, कक्षाकोठाका लागि फर्निचर, शैक्षिक सामाग्री समेत प्रदान गरिएको छ।

गोकर्ण माध्यमिक विद्यालयसहित यसै परियोजना अन्तर्गत भूकम्प प्रभावित ६ जिल्लामा गरी १२ वटा विद्यालय निर्माण भएका छन्। दोलखाको नवीन मावि, भिमेश्वर बहिरा प्रावि र सित्का मावि, सिन्धुपाल्चोकको इन्द्रेश्वरी उच्चमावि, सिपा तिनधारा मावि र हिरादेवी निमावि, मकवानपुरको शान्ति बहिरा तथा सुस्त श्रवण विद्यालय र गीतावोरा निमावि, सिन्धुलीको नवज्योति निमावि र गौरीशंकर उच्चमावि र ललितपुरको मगरगाउँ उच्च माविले यसै शैक्षिक सत्रबाट नयाँ भवन पाएका छन्।

यसबाट ३ हजार ३ सय ४८ विद्यार्थीलाई भूकम्प प्रतिरोधी कक्षाकोठा प्राप्त भएको छ। भूकम्प प्रतिरोधी संरचना, अपाङ्गता भएका विद्यार्थीका लागि सहज हुने गरी कक्षा कोठा, शौचालय र खेलमैदान निर्माण गरिनु नवनिर्मित विद्यालयहरुको विशेषता हो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.