डोटीको बोगटान गाउँपालिका वडा नम्बर-६ गगुडामा यात्रुबाहक जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि थप ४ जना गम्भीर घाईते भएका छन्। साबिकको गगुडा गाबिसको वडा नम्बर –८ कटैगाउँको धार नजिकै शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिब बहादुर सिंहले जानकारी दिए।
दुर्घटनामा परि मृत्यु हुनेहरुमा बोगटान गाउँपालिका वडा नम्बर-१ सिमचौरका बिष्णुबहादुर मगर, भिम घर्तिमगर, बुढो घर्ति मगर, गोरख थापा, शसिराम बहादुर पुनमगर, ललीता देबी पुन, टेकबहादुर पुनमगर, चन्द्रबहादुर घर्तिमगर र शिखर नगरपालिका- १ कपल्लेकीका चालक कृष्णबहादुर नेघी छन्।
दुर्घटनामा पर्ने यात्रु सबै बोगटान गाउँपालिका वडा नम्बर-१ सिमचौरका हुन्। जिप सडकबाट १ किलोमिटर तल भिरमा खसेको छ ।
घाईते ४ जनाको उपचारका लागि जिल्ला सदरमुकाम ल्याइएको छ।