नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफूविरूद्ध समाचार लेखेको भन्दै नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई धम्की दिएका छन्। संसदको सार्वजनिक लेखा समितिले निगमको जग्गा खरिदमा अनियमितता भएकोले कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने निर्णय सार्वजनिक भए पछि निगमको जग्गा खरिदमा करोडौं अनियमितताको आरोप लागेका खड्काले आफ्नो करिअर सिध्याइदिएको भन्दै धम्की दिएका हुन्।
समाचार संकलनका लागि आपूर्ति मन्त्रालय पुगेका पौडेललाई आपूर्ति मन्त्रालयमा ‘तपाईँको पनि परिवार छन्, विचार गर्नुहोस्’ भन्दै धम्की दिएका थिए।
मण्डलको कार्यकक्षबाट आपूर्ति सचिव प्रेमकुमार राईको कक्षमा पुगेका खड्काले पौडेललाई मेरो करिअर सिध्याउने? भन्दै धम्काएका थिए।
पौडेलले यसअघि निरन्तन्तर आयल निगमको अनियमितता गरेको भन्दै ‘डेढ अर्बको जग्गा किन्दा ६७ करोड घोटाला’ शीर्षकको समाचार मार्फत अनियमिता सार्वजनिक गरेका थिए।
समाचार प्रकाशित भए पछि संसदको अर्थ समिति, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेका थिए ।
लेखा समितिले शुक्रबार खड्कामाथि कारवाही अघि बढाउन अख्तियार पठाउने निर्णय गरेको थियो।