आचार्य खेमराजको अन्त्येष्टि


पूर्वीय दर्शनका चिन्तक आचार्य खेमराज केशवशरण दाहालको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ ।

निवास सिफलबाट उनको पार्थिव शरीर शवयात्रासहित पशुपति आर्यघाट लगी निम्बार्क वैष्णव परम्परानुसार संस्कार गरिएको हो । उनको बुधबार राति निधन भएको थियो । पार्थिव शरीर बिहिबार दिनभर श्रद्धाञ्जलिका लागि निवासमै राखिएको संस्कृतिविद् डा गोविन्द टण्डनले जानकारी दिए ।

तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयमा साहित्य विषयको प्राध्यापकका रुपमा लामो समय अध्यापन गरेका  केशवशरण मानव धर्म सेवा समितिको संस्थापक अध्यक्षसमेत थिए । उनले लामो समय रेडियो नेपालमा मंगलबार बिहान आध्यात्मिक प्रवचनको कार्यक्रम ‘लक्ष्य चिन्तन’ सञ्चालन गरेका थिए । उनका ‘मानवता’ महाकाव्य, अनुदित ‘हर्ष चरित’, ‘मुक्तिपारिको जीवनयात्रा’, ‘सुक्ति सुधा’ नीति काव्यलगायत ४४ आध्यात्मिक पुस्तक प्रकाशित छन् ।

भजनसंगीतमा समेत योगदान गर्नुभएका केशवशरणका ‘नेपाल जननी वन्दे…’, ‘जय शिव ॐकार …’, ‘जय जगदीश हरे… ’ लगायत भजन चर्चित छन् । नेपालको भजनसंगीत रचनामा उनको ठूलो योगदान छ । आध्यात्मिक क्षेत्रमा लामो समय योगदान गरेकाले उनलाई  विसं २०६८ मा रथारोहणसमेत गराइएको थियो । स्व केशवशरणका श्रीमती, दुई छोरा र दुई छोरी छन्। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.