बायो इञ्जिनियरिङबाट तटबन्धन प्रभावकारी

बायो इञ्जिनियरिङबाट तटबन्धन प्रभावकारी


चिसाङ खोलाको ढुंगेबगर अहिले हरियालीपूर्ण भएको मात्र छैन, बायो इञ्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण भएको छ ।

सामूहिक प्रयास गर्ने हो भने जुनसुकै काम सजिलै गर्न सकिने उदाहरण मोरङको केरौन–९ स्थित धर्तीमाता कृषि सहकारी संस्था लिमिटेडले प्रस्तुत गर्दै बायो इञ्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण गरेको हो ।

सो सहकारीका अध्यक्ष गोपाल खड्काका अनुसार सो सहकारीले खोलामा बायो इञ्जिनियरिङ वृक्षरोपणको माध्यमबाट खोलामा तटबन्ध गर्ने र सो क्षेत्रमा सहकारी विभिन्न खेती गर्ने उद्देश्यले रु एक करोड ५० लाखमा १२ बिगाहा ढुंगेबगर खरीद गरेको हो ।

विसं २०७१ मा स्थापना भएको सो सहकारीले शुरुका दिनमा खोला किनारको ढुंगेबगर खरीद गर्दा अधिकांश शेयर सदस्य असन्तुष्ट थिए । तर, चिसाङ खोला किनारको खोलासँगै जोडिएको दुई बिगाहा १० कठ्ठा बगरमा वृक्षरोपण गरेको दुई वर्ष भयो, बिरुवा हुर्किंदैछन् ।

अहिले सो क्षेत्र हराभरा भएको छ । सो बगरमा मेवा र कागतीका बिरुवा दुई बिगाहामा लगाइएको छ । एक लाइनमा कागती र अर्को लाइनमा मेवा रोपिएको छ । दुई बिगाहामा कागतीका ३०० बिरुवा र मेवाका २०० बिरुवा रोपिएको छ ।

त्यसैगरी, अलि डाँडो परेको जग्गामा ५० वटा आँपका बिरुवा पनि रोपिएको छ । एउटै जग्गामा आँप, कागती र मेवाको व्यावसायिक खेती पूर्वमा पहिलोपटक शुरु गरिएको बताइएको छ । १२ बिगाहा जग्गालाई पूर्वकै कृषि तथा पशुपालनको स्रोतकेन्द्र बनाउने उद्देश्य रहेको सहकारीका अध्यक्ष खड्काको भनाइ छ ।

उनका अनुसार बाख्रा, बंगुर र गाईपालनका लागि अलगअलग गोठ निर्माण कार्य भइरहेको छ । गाई र बाख्राका लागि आवश्यक पर्ने विभिन्न जातको घाँस पाँच बिगाहा खेतमा लगाइएको छ ।

त्यतिमात्र होइन, आधुनिक दाना निर्माणका लागि सहकारीले आफ्नै प्राविधिक उत्पादन गरिरहेको छ । संस्थाका सचिव नीलमणि पराजुलीले भने, यहाँ ‘हाइड्रोपोनिक’ प्रविधि प्रयोग गरिएको छ जसले थोरै दानाबाट धेरै पौष्टिक तत्व प्राप्त हुन्छ । सो सहकारीले सो प्रविधिबाट दाना उत्पादन गर्नका लागि काम शुरु गरिसकेको छ ।

सचिव पराजुलीका अनुसार आगामी कात्तिकदेखि गोठमा गाई, बाख्रा र बंगुर राखिनेछ । शेयर सदस्यहरूले अघिल्लो साधारणसभामा १२ बिगाहा जग्गालाई कृषि तथा पशुपालनको स्रोत केन्द्रका रुपमा स्थापना गर्ने निर्णय गरिसकेका छन् र सोहीअनुसार काम भइरहेको अध्यक्ष खड्काले बताए ।

उनले भने, बायो इञ्जिनियरिङका माध्यमबाट खोलामा गरिएको तटबन्ध निकै प्रभावकारी भएको छ । वर्षेनी खोलाको कटान सहनु पर्ने सो क्षेत्रमा बोटबिरुवा लगाएपछि खोला आफैँ साइजमा आएको स्थानीय भोगीराज न्यौपानेको भनाइ छ ।

उनले भने, ‘खोलाले बगाएर लैजाला भन्ने त्रास थियो बिरुवा हुर्किएदेखि ढुक्क भएको छ ।’ रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.