अाजदेखि नुवाकोटको बट्टार बसपार्क पुनः व्यवस्थित रुपमा सञ्चालित


नुवाकोटको बट्टार बसर्पाक आजदेखि पुनःव्यवस्थित रुपमा सञ्चालनमा आएको छ । एशियाली विकास बैँंक (एडिबी)को सहयोगमा शहरी तथा वातावरणीय सुधार परियोजनाले सातवर्ष अघि रु एक करोड ८७ लाखको लगानीमा निर्माण गरेको सो बसर्पाक आजदेखि सञ्चालनमा ल्याइएको हो ।

बसपार्क निर्माण भएर पनि पार्किङस्थलमा सवारीसाधन नजादा दुरुपयोग भएकाले सो पार्कमा सवारी साधन अनिवार्य प्रवेश गर्नुपर्ने व्यवस्था गरी सञ्चालनमा ल्याइएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिए ।  यही साउन पहिलो साता बसेको जिल्लाको यातायात क्षेत्रका सरोकारवालाको बैठकले पार्कभित्र अनिवार्य रुपमा सवारी साधनको प्रवेश, टिकट काउन्टर, विदुर र बट्टारमा यात्रुलाई चढाउन र ओराल्न मात्र पाउने र त्यसको लागि बढीमा पाँच मिनेट मात्र रोक्न पाइने नियम बनाइएको थियो ।

बसपार्क सञ्चालनको एक वर्षको लागि कम्तीमा रु ११ लाख आम्दानी हुनेगरी बोलपत्र आह्वान गर्ने र ठेक्का प्रक्रिया पूरा नभएसम्मका लागि यातायात व्यवसायीले एकमुष्ट हुनआउने रकम नगरपालिकालाई बुझाउने सहमतिको भएको थियो।  नगरपालिकाले सुरक्षा व्यवस्थापन, खानेपानी, शौचालय, आवास तथा कार्यालय सञ्चालन गृहलगायतका भौतिक संरचनाको निर्माण पूरा भइसकेको नगरपालिकाको कार्यकारी अधिकृत दुर्गाप्रसाद चालिसेले जनकारी दिए ।

विसं.२०६८ मा निर्माण भए पनि २०७१ असार १ गतेदेखि सञ्चालनमा आएको बसपार्कमा सवारी साधनले प्रयोग गरेबापत प्रतिदिन लामो दुरीका बसले रु ३०, माइक्रोबस र स्थानीय मार्गमा सञ्चालन हुने मिनी बसले रु २५ कर तिर्नुपर्दछ ।

स्थानीय ४३ जना जग्गाधनीले निःशुल्क रुपमा उपलब्ध गराएको ३५ रोपनी जग्गामा निर्माण गरिएको बसपार्क सञ्चालनले बजार क्षेत्रमा यातायात व्यवस्थापन प्रभावकारी, दुर्घटना न्यूनीकरण, सवारी साधनको व्यवस्थित सञ्चालन, यात्रु वर्गलाई टिकट खरिदलागयतका सविधा हुने विश्वास लिइएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.